पुसको पाके माघमा खाके

 


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

अनिता र निताले
सुनितालाई डाके
तिल्को लड्डु, पिँडालु,
शखरखण्ड चाखे
आज पुसको रातिमा
सुत्न जाने रे !
भोलि माघ लागेसी
टन्न खाने रे !
भन्नुभयो आमाले
`पुसको पाके माघमा खाके´

`पकाएर अदुवा
तातो खुदो राखे
डालामा छ सेल् रोटी
नाङ्लाले ढाके
बिरालाले जुठो हाल्ला
क्वाप्प खाएर
थन्क्याऊ बाबु भँडारमा
ताल्चा लाएर´
भन्नुभयो बाबाले –
`पुसको पाके माघमा खाके´

तरुल खन्न गएका
ठुल्दाइ साह्रै थाके
`अलिकति उसिन्दिनुस्
चाख्छु´ भन्न लागे
ऐले थोरै राख्दिउँला
तिम्रो भागमा
रुचिन्जेल टन्न खाउला,
भोलि माघमा
भन्नुभयो बज्यैले –
पुसको पाके माघमा खाके।