तुलसी पण्डित
नातिनीको फेसबुक मोह हटाउने जमर्को धेरै गरे । अँह सकेको थिइन । जति खेर पनि फेसबुक हेरेकी छ । पढ्न लेख्न पट्टी ध्यानै छैन । कति सम्झाए बुझ्ने हैन । उनको फेसबुक मोह झन् बढ्दै गयो । पढाइ कमजोर भयो । मैले अबत केही जुक्ति लगाउन पर्यो भन्ने ठाने । नानु यहाँ आउँत । किन बाबा ? उनको हातमा मोवाइल थियो । तिमीलाई कोरोना बारे केही ज्ञान छ ? बाबा करोना त डरलाग्दो रोग हो । यो लागे पछि मान्छे बाँच्न गाह्राे हुन्छ । यो बाट बँच्न मास्क लगाउनु पर्छ । धेरै मान्छे भएको ठाउँमा जानु हुदैन । साबुनपानीले हात धोइ रहनुपर्छ । तागतिला र पोषण युक्त खानेकुरा खानु पर्छ । ओहो ! नानुलाई धेरै कुरा थाहा रहेछ । कसरी थाहा पायौ ? ल बाबा हेर्नू होस् त फेसबुकमा सबै कुरा लेखिएको छ ।मैले यसैबाट थाहा पाएको । यसबाट धेरै ज्ञानगुनका कुरा पनि सिक्न पाइन्छ बाबा । मेरो मथिङ्गलमा सय भोल्टको करेन्टले हान्यो । तै पनि साहस गरेर उनलाई भने । हेरन यो फेसबुक धेरै चलायो भने यसैको माध्यमबाट कोरोनाको भाइरस सर्छ रे ? यो भ्रम हो बाबा यसबाट कोरोना सर्ने हैन । बरु टाढा भाग्नमा सहयोग गर्छ । उनको यो भनाइले म झन् मर्माहट भए । उनलाई फेसबुकबाट हटाउने मेरो योजना बिफल भयो । मैले सोचे । “यस्तै प्रविधि जोडेर बालबच्चालाई शिक्षा दिन सके कति प्रभावकारी हुँन्थ्यो होला ।”