अन्जु गौतम
शिक्षक
प्रेममा यो बुझ्न जरुरी छ कि प्रेम सधैं स्वतन्त्र हुन्छ ।
प्यारा भाइ बहिनीहरू, तिमीहरूले आफूले माया गरेको मान्छे अरुसँग बोलेको, कसैको वेब प्रोफाईलमा केही प्रतिक्रिया दिएको निहुँमा कुट्न जानु , झगडा गर्दै हिड्नु त वास्तवमा क्षणिक आवेग मात्र हो । जसले तिमीलाई कमजोर बनाउँछ ।
प्रेम गरिँदैन आफैँ हुन्छ । अचानक हुन्छ । अति सुन्दर अनि प्राकृतिक हुन्छ – जस्तो कि रुखबाट पात खस्छ ।
जुन बेला तिमीलाई कसैसँग प्रेम भैरहेको छ ठीक त्यही नै बेला उसलाई तिमीसँग प्रेम नहुन पनि सक्छ । तिमी आफ्नो प्रेमलाई सभ्य सालिन तरिकाले तिमीले मन पराउने मान्छे लाई अभिव्यक्त गर्न पनि सक्छौं तर कसैले तिमीलाई सुन्न चाहिरहेको छैन भने पटक पटक डिस्टर्ब गरिरहनु चाहिँ ह्यरेसमेन्ट हो ।
अरूले तिमीलाई प्रेम गर्छ वा गर्दैन त्यो तिम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हो। यो ब्रह्माण्डमा धेरै कुराहरु यस्ता छन् जो तिम्रो पकड़ भन्दा धेरै टाढा छन् । यिनका पछि लागेर दुःखी नहोऊ। जीवनमा जुन कुरा तिमीलाई प्राप्त छ त्यो नै तिम्रो हो , त्यसमै रमाउन सिक ।
जीवनको सबै भन्दा ठूलो शक्ति , तागत हो – प्रेम ।
मान्छेमा भरोसा र विश्वास जन्मिन्छ प्रेमले । प्रेमले मात्र खुशी दिन्छ । जीबनमा अपार ऊर्जा भरि दिन्छ। प्रेममा त पूजा , तपस्या , साधना हुन्छ त्यहाँ judgement काे कुनै स्थान हुँदैन। तर प्रेम प्राप्तिका निम्ति आफ्नै साथीहरु बिच अत्यधिक इर्ष्या हुनु , वैमनस्यता गर्नु , झगडा गर्नु त आफैँले आफ्नो अस्थित्व स्वीकार नगर्नु हो ।
वास्तवमा भन्नु पर्दा, प्रेम केवल प्रेमका निम्ति मात्र गरिन्छ ।
साँचो प्रेममा प्रेम प्राप्तिकै अत्यधिक मोह हुनु पनि बाधक हुन आउँछ । प्रेममा कुनै पनि किसिमको अपेक्षा हुनु हुँदैन । कुनै सहयोग पाउन वा केही अपेक्षा पूर्तिको निम्ति मात्र हो भने बरु तिमी, फ्रेन्डशिप गर प्रेमको नाटक नगर ।
र अन्त्यमा, साँचो प्रेममा गुमाउने कुनै डर हुँदैन ।साँचो प्रेम त अनन्त अनन्त सम्म रहिरहन्छ ।
तिमीले गर्न सक्ने यति मात्र हो की तिमी आफूले मन परेको मान्छे लाई निःशर्त प्रेम गर । हौशला देऊ । प्रेरणा देऊ उसको शाहस बनीदेऊ । उसको खुशीलाई पनि आफ्नै सम्झी रमाइदेऊ।
अझ सक्छौं भने सारा संसारलाई प्रेम गर । तर सबै भन्दा धेरै प्रेम स्वयंलाई गर । सबै भन्दा धेरै सम्मान आफैंलाई देऊ। आफैंलाई बुझ । पहिले आफैंलाई चिन । अरूको प्रेम जित्नकालागि आफू आफैँसँग नहार । कसैलाई ईम्प्रेस गर्नका निम्ति तिमी आफूले आफैँलाई नमार ।