दुर्गा वनबासी
‘प्रेम एउटा शाश्वत अनुभूति हो । यो आफैमा निस्वार्थ र पावन हुन्छ । यसको कुनै जाति, धर्म, वर्ग, लिंग, राष्ट्रियता केही पनि हँुदैन । बाबुआमाले सन्तानलाई र सन्तानले बाबुआमालाई गर्ने प्रेम, दाजुभाइ, दिदीबहिनीको प्रेम, परिवार, आफन्त, इष्टमित्र, छरछिमेकी र साथीभाइको प्रेम, प्रेमी–प्रेमीका र पति–पत्नीको प्रेम, सम्पूर्ण प्राणी जगतलाई गरिने प्रेम, भक्तले ईश्वरलाई र ईश्वरले सृष्टिलाई गर्ने प्रेम यी सबै प्रेमकै उदाहरण हुन् । आजभोलि कुत्सित स्वार्थले प्रेमको अर्थ, गरिमा र पावनतालाई संकुचित गरेको छ । त्यसैले आजैदेखि हामी स्वार्थ र साँगुरोपनबाट माथि उठेर प्रेम गर्न सिकौँ । सबैलाई प्रेम–दिवसको न्यानो प्रेमील शुभकामना !’
लगभग सबै वक्ताहरुले यस्तै बोले आजको कार्यक्रममा । विशेष युवा तथा किशोर जमातबाट सस्तिएको र गलत अर्थ र फेशनको रुपमा मनाइन थालिएको प्रेम–दिवससम्बन्धी भ्रम चिर्नलाई आयोजित उक्त कार्यक्रमका वक्ताहरु पनि विशेष युवाहरु नै थिए । यति सुन्दर र उदाहरणीय कार्यको निम्ति आयोजक भाइहरुलाई हृदयैदेखि धन्यवाद दिन मन लाग्यो । कार्यक्रमपश्चात सबै आ–आफ्नो गन्तव्यतिर लागे । म भने दर्शक दीर्घाबाट उठेर मञ्चतिर लागेँ ।
अकस्मात दुई युवाहरु एक अर्कालाई कुर्सी हानाहान गर्न थाले, अरु भाइहरुले दौडेर छुट्याए । दुबैलाई दुई तिरबाट केही केटाहरुले समातेका भए पनि दुबै फुत्किन भरमग्दुर प्रयास गर्दैथिए । शिष्टताको सीमाभन्दा धेरै पर पुगेर उनीहरुले एक अर्कालाई प्रयोग गरेका शब्दहरु सुन्दा पत्यार गर्नै मुश्किल थियो कि भर्खरै कार्यक्रममा त्यति मीठो बोल्ने कार्यक्रमका आयोजक सदस्य थिए उनीहरु । उनीहरुका वादविवाद र झगडाबाट प्रष्ट थियो– उनीहरु एउटी केटीको लागि यति पर पुगेका थिए । दुबै जना त्यस केटीलाई आफ्नो निजी सम्पत्ति जत्तिकै हकदाबी गर्दै लडिरहेका थिए ।