प्रेम


माहेश्वरी भट्ट
कञ्चनपुर

सानु बाल्यकालदेखि नै सुरजलाई मन पराउँथी। सुरज उसको साथी मात्र नभएर उसको सपना पनि थियो। विद्यालयमा एकसाथ पढ्दा सानुले सुरजका लागि नोटहरू लेख्थी, उसका प्रिय खानाहरू बोक्थी, र चुपचाप उसको सानो ख्याल गर्थी।
समय बित्दै गयो। उनीहरू ठूला भए, आ-आफ्ना बाटो लागे। वर्षौं पछाडि, संयोगवश सानु र सुरज फेरि भेटिए। सुरज अझै पनि उस्तै सरल, उस्तै हँसमुख थियो। उनीहरूबीच धेरै कुरा भए—पुराना सम्झनाहरू, बिछोडको कथा, अनि जीवनका भोगाइहरू।
सानुले हिम्मत जुटाएर सोधी, “तिमीलाई थाहा थियो, म तिमीलाई प्रेम गर्थें ?”
सुरज मुस्कुरायो, हल्का रोकिएर भन्यो, “हो, थाहा थियो। तर तिमीले कहिल्यै भन्न सकेनौ, म पनि तिमीलाई मन पराउँथेँ।”
सानुको आँखामा आँसु टिलपिल भयो। कति सजिलो थियो, कति नजिक थियो प्रेम, तर शब्दकै अभावले उनीहरू एक-अर्काबाट टाढा भएका थिए।
कहिलेकाहीँ प्रेम महशुस गरिन्छ, देखिन्छ, तर व्यक्त गर्न ढिला हुँदा, त्यो केवल एक अधुरो कथा बनेर रहन्छ।