
शान्ति सिग्देल
शार्दूलविक्रीडित
कालो बादल वर्षिएर झरना छाँगा र खोलीहरू
बन्दैछन् हरिया र शान्त रसिला कान्ला र आलीहरू
प्यारो यो अनुकूल मौसम हुँदा आनन्द मानीकन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।

माटोमा पसिना मुछेर अहिले गर्छन् सबै गौरव
बाँझो खेत खनेर बीजन छरी गर्छन् बडा उत्सव
देखिन्छन् पहरा र पर्वत सबै आषाढमा नन्दन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।
मस्किन्छन् वन बागमा तरु लता हावासँगै सुन्दर
साँच्चै स्वर्ग समानको समय यो खोजेर पाइन्छ र?
घुम्टोमा सजिँदा धरा मनहरा लोभिन्छ सारा मन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।
भुल्छन् भोक र प्यास हा!कृषकले छन् कर्ममा तत्पर
रोपी मानु फलाउँछन् सय मुरी छैनन् कतै निर्भर
बाटोमा वनमा सुधासरि मिठा छन् चाँचरी गुञ्जन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।
पोख्छ्यौ के यसरी सधैँ अवनिमा वर्षातको मौसम
पानी हो वन वृक्ष वा प्रकृति यो आह्लाद पार्ने धन
माटो मित्र बनाउँदै मनुजले गर्छन् सधैँ आर्जन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।