“फूलको आत्म कथा”

घनश्याम रेग्मी

हावा चलेका पल फर्फराई
बोलाउँछिन् खेल्न उतै मलाई
छन् कर्म मेरा लठिपत्र सारा
वाचा गरेका सब छन् उधारा।

जोत्ने कि खन्ने कपडा धुने कि
जागीर जाऊँ कविता गरूँ कि
टन्टा हजारौं सब घेर्न लाग्छन्
मान्छे हुँ मेरा सपना यहाँ छन्।

धन्दा सकी हुन्छु जहाँ म खाली
सन्ध्या प्रभामा मन डुल्छ खालि
इच्छा हुने पुष्प यिनै नियालूँ
जो हाँस्न सक्छन् मनका सिपालु।

मिल्छन् जसै औसर हेर्न जान्छु
के के छ चाला भन सोध्न थाल्छु
केही नयाँ झार भए तयार
गोड्दै उखेल्ने छु गरी हतार।

माटो र पानी मलको व्यवस्था
कस्तो छ तिम्रो अबको अवस्था
इत्यादि मेरा जब प्रश्न सुन्छिन्
हाँसेर मेरो परिहास गर्छिन्।