कृष्णशरण उपाध्याय पौडेल
छन्द : उपजाति
उठी बिहानै सब बाबु नानी
ज्ञानी हुने हो नि पढी कहानी
चरी सरी चिर्बिर गीत गाई
कि फूल झैँ सुन्दर मुस्कुराई।
हो बाल्नु पर्ने कि त ज्ञान ज्योति
हो बन्नु पर्ने कि त रत्न मोती
उद्देश्य ठूलो छुन लम्किने हो
बनेर तारा तब चम्किने हो।
अगाडि बढ्ने त नदी सरी हो
पढ्ने र लेख्ने पनि बेसरी हो
सफा हुने गर्छ बगेर पानी
उस्तै लिने हो व्यवहार – बानी।
मेटाउँदै प्यास ; नदी बहन्छन्
बग्दा अनेकौं विपदा सहन्छन्
बगी बगी ती कति देश घुम्छन्
घुमी घुमी दूर समुद्र चुम्छन्।
बाँच्ने अरू निम्ति त बोट झैँ हो
लिने अरू को पिर – चोट नै हो
छायाँ दिने हो कि त अन्य लाई
मायाँ दिने हो कि त दीन लाई।