बालमनाेवादः- विद्यालयमा सरले गाली गरेको दिन

विष्णु भण्डारी

 स्थानः पढ्ने कोठा, मितिः २०७३ साल साउन १८ गते, समयः साँझको ७ बजे, पात्रः वेवेक (टेबुलमा किताबहरु केही छरिएका केही खात लाएर राखिएको छ । ढोका बन्द छ झ्याल खुल्ला । झ्यालबाट सिरर गर्दै अलिअलि हावा छिरीरहेको छ, कोठाभित्र विवेक टेबुलकै छेउको कुर्सीमा बसेर एकोहोरिरहेको छ । बिवेक कक्षा आठमा पढ्ने केटा हो । ऊ सधैं विद्यालय जान्छ त्यैपनि उसले अनेक कारणले सरहरुबाट पटक पटक गाली खाने गर्छ । आज पनि विवेकले सरबाट गाली पाएकोले उसको मनमा अत्यन्त वितृष्णा जागेको छ । ऊ मनमै कुरा गर्छ) ( मन खिन्न पार्दै )

आज पनि मलाई सन्ताेष सरले नराम्रो सँग गाली गर्नुभयो । घरबाट त समयमा नै हिडेको थिएँ नि । तर बाटामा जाँदाजाँदै साइकल विग्रीयो र डोर्याउँदै स्कूल पुग्नुपर्याे । प्रार्थना सकिओरी सर कक्षामै पसिसक्नु भएछ डराउँदै क्लासमा गएँ । सरले त गाली गरिहाल्नु भयो । भित्र जाने अनुमति मात्रै के मागेको थिएँ । साले गधा, भाते, चोर यही हो तेरो स्कूल आउँने समय ? तँलाई समयको ख्याल छैन हैन त भन्दै एकछिन त भित्रै पस्न नदिई बाहिरै उभ्याउँनु भयो । यो कारणले ढिलाई भयो भनी सफाई दिने मौकै पो दिनुभएन । ढिलाे आउनाकाे कारण भन्दै थिएँ । चुपलाग भाते गधा धेर स्वाङ पार्छस् भन्नुभयो । दिनभरी नै मलाई कस्तो ग्लानी भयो । दिनभरीको पढाई पनि दिमागमा गएन । अस्ति नै पनि एकदिन सुवोध सरले त्यसरी नै अनाहकमा गाली गर्नुभयो । त्यो दिन त पिटाई पनि खाइयो । साथीको किताब मैले लुकाइदिएको भन्ने आरोप लाएर पिट्नुभयो । मैले हैन भन्दा भन्दै तैँले नै फटाई गरेको होस अझ ठूलो स्वरले कराउँछस भन्दै गाली गर्दै पिट्दा मलाई त कति दुःख लाग्यो भने । आखिर किताब सन्देसले लगेर लुकाएको रहेछ पिटाई र गाली मैले खाएँ । एउटाले गल्ती गरेको अर्कोलाई सजाय दिइयो भनेर सुवोध सरले रियलाइज सम्म गर्नुभएको भए मलाई त्यति साह्रो दुख्नेथिएन । चुटाइकाे शारीरिक पिँडासँगै मन पनि दुख्याे बेस्सरी । त्यो दिन मेरो दिमागमा एकप्रकारको तुवालो भरिएसरह भएको थियो । त्यसको भोलीपल्ट मलाई स्कूल जान मन पनि लागेन । पढ्न, साथीहरुसँग बोल्न पनि मन लागेन । सबै साथीहरु खेल्न गए, आफू त कतै नगई घरैमा बसीरहेँ । सन्ताेष सरले आज नमिठा शब्दहरु प्रयोग गर्दै गाली गर्नुभयो । कमसेकम मलाई मेरो गल्तीको कारण भन्ने मौका दिनुभएको भएपनि त हुन्थ्यो । मैले त्यस्तो विघ्न गर्न नहुने के काम विगारेको थिएँ र ? हुनत नचाहिने काम कुरा गरेर हिड्ने फटाहहरुको जमात पनि हाम्रो स्कूलमा कहाँ कम छ र । कोही स्कूलै नआई गाँजाको अम्मलमा दिनभर लठ्ठ भएर बाँसझ्याङ र झाडि हुँदो बस्छन् । कोही वा–आमा र गुरुको आँखा छली स्कूल टाइममा क्यारामवोर्ड, तास खेलेर समय वर्वाद पारिराख्या हुँन्छन् । कोही अर्काको धनमाल चोर्न बाँकी नराख्ने छन् । भने सम्मका फटाहाहरु नभएका होइनन् । त्यस्ताको भविष्य पछि कस्तो होला? तर अरु फटाहा भए भन्दैमा म जस्तो निर्दोष विद्यार्थीलाई गाली गर्ने नानाथरीका सजाय दिने त नगर्नुभा हुने नि । म जस्तो निर्दोष विद्यार्थीले विनाकारण पटक पटक किन सजाय पाउछु खै ! आज मेरो दिमाग बोर भइरहेछ । अब कसरी गृहकार्य गर्ने । अनि भोली के लिएर विद्यालय जाने त्यहाँ गएर फेरि गाली खाएर आउने ? अब भोली विद्यालय गईदैन जस्तो छ । बिनाकारण विद्यार्थीलाई त्यस्तो सजाय दिएको हेर त कस्तो । साथीहरुको अगाडि मेरो कति बेइज्जत भयो ? सबैजना हाँसेर कोठै थर्काए । आजलाई छुट दिएँ भोलीदेखि त्यसो नगर्नु भनेको भए हुन्थेन । एकमन त सोच्छु पढ्नै छोडुँ कि भन्ने तर फेरि पढ्न छोड्यो भने आफैलाई घाटा हुन्छ । अहिले लेखपढ गर्ने उमेरमा पढिएन भने पछि कहाँ पढिन्छ । अनि नपढिकन पछि कसरी इलम गरी खाने ,भविष्यमा दुःख पाइन्छ । हत्तेरीका काँ पढ्नै छोड्ने कुरा सोचेको मैले पनि । पढ्न छोडिहाल्न चाहिँ ठिक हुँदैन क्यार तर ……… । कि अर्कै विद्यालयमा पढौं कि जस्तो पनि लाग्छ । आ……अब अहिले कक्षा ८ को परीक्षा त सकियोस अनि सोच्नुपर्ला । (यतिकैमा विवकेलाई उसकी आमाले भात खान बोलाउँनुहुन्छ । ऊ भात खान जान्छ ।