तुलसी पण्डित
आफ्नो सिट खोज्दै चौरासी वर्षका बृद्ध आए । त्यो ठाउँमा बीस बाइस वर्षको ठिटो बसिसकेको रहेछ । बृद्धले उसलाई टिकट देखाए , तैपनि उसले ठाउँ छोडेन ।
बृद्धले भने ।”त्यहाँ माथि हेर त के लेखेको छ ?”
उसले मुन्टो उठाएर हेर्यो र झस्कियो ।
“त्यहाँ लेखेर हुन्छ ? यो सिटमा म पहिले आएर बसेको हुँ ।”
पछि बस हिँड्ने बेलामा कन्डक्टरले उसलाई उठाएर बृद्धलाई त्यही सिटमा राख्यो । केटाले बृद्ध पट्टि फर्केर रिस भाव देखाइ रह्यो ।
बस आफ्नै गतिमा दौडिरहेको थियो । केही पर पुगेर बस रोकियो । त्यहाँ एक जना अपाङ्ग आयो , जसको एउटा खुट्टा नै थिएन । ऊ बैशाखीको भरमा बसमा चढ्यो ।
उसले अपाङ्ग सिट तिर नजर लगायो । त्यस सिटमा एक्काईस वर्षकी युवती बसेकी रहीछन् ।
उसले भन्यो । “यो अपाङ्ग सिट हो ।”
तर केटीले ठाउँ छोड्न इन्कार गरिन् ।
फेरि कन्डक्टर आयो । उसले ठाउँ छोड्न अनुरोध गर्यो । युवती उसैसँग बाझ्न थालिन् ।
अपाङ्गलाई बसमा उभिन गाह्रो भइ रहेको थियो । ऊमाथि बृद्धलाई निकै माया लागेछ ।
उनले उठेर उसलाई ठाउँ छोड्दै भने । “तिमीलाई उभिन गाह्रो भयो , मेरो सिटमा बस ।”
तर अपाङ्ग त्यो सिटमा गएर बस्न मानेन ।
“म बृद्ध होइन अपाङ्ग हुँ । त्यो सिटमा तपाईं नै गएर बस्नुहोस् ।”
यो कुरा सुनेर केटी जिल्ल परिन् ।
केटीले उठ्दै भनिन् । मैँले अधिकारको दुरुपयोग गरेँ । ल तपाईँ नै बस्नुहोस् यो सिटमा ।”
अपाङ्गले मुसुक्क हाँस्दै भन्यो । “हैन तपाईँको पनि अधिकार छ त्यो सिटमा । ”
युवती जिल्ल परिन् ।
“किन ?”
” तपाईँ पनि बौद्धिक अपाङ्ग हो नि ।”