“भयो बिहानी उठौं”

देव भट्टराई

भयो उज्यालो उठ शीघ्र साथी ।
झुल्केर आए रवि हेर माथि ।।
चराहरूले मृदु गीत गाए ।
नौलो बिहानीसँग प्रीत लाए ।।

उठौं सुनौलौ दिन हेर्नलाई ।
सपार्न सम्पूर्ण भविष्यलाई ।।
हाँसौँ समाईकन काम आफ्नो ।
लेखौं शिलामा शुभनाम आफ्नो ।।

बाँकी छ धेरै अझ गर्नलाई ।
संसाररूपी भव तर्नलाई ।।
यो सृष्टिको चाल बुझेर राम !
तेरो र मेरो नभनेर काम ।।

दृष्टान्त छन् सूर्य अगाडि हेर ।
भए न अल्छी कहिल्यै अबेर ।।
कर्तव्य ठानीकन कर्मलाई ।
तयार आफैँ खुद जल्नलाई ।।

बेग्लै छ मान्छे हुनुको महत्व ।
प्राणी जगत् को अति श्रेष्ठ तत्व ।।
सानो छ कीरो कमिलो तथापि ।
शालीन कस्तो ? गतिशील जाती ।।