रमेशचन्द्र घिमिरे
“कनिकुथी गरेर
पुरै पाना भरेर
थाहा पायौ सविता ?
भाइले लेख्यो कविता”
“मैले पाना भरिनँ
साह्रै दुःख गरिनँ
मेरी दिदी सविता
तै नि लेखेँ कविता”
त्यसो भन्दा दाइले
यसो भन्यो भाइले
के हो त्यस्तो रमिता ?
कस्तो हो त्यो कविता ?
पढ्न धेरै नपर्ने
गाउन झनै नपर्ने
छक्क परिन् वविता
देखेपछि कविता
तीन पानाको हैन
तीन लाइनको नि छैन
तीन अक्षरमा लेखेछन्
दाइले बल्ल देखेछन्
कुरा बुझिसकेर
दङ्ग परिन् सविता
ठुल्दिदीको छोरीको
नाम रै’छ कविता।