“भाषाको दुर्दशा”

बासुदेव पाण्डे

धाराप्रवाह अङ्ग्रेजी,बोले ठानिन्छ पण्डित
नेपाली शब्द बोलेमा विद्यार्थी हुन्छ दण्डित।

भाषा हो सभ्यता हाम्रो हुनुपर्ने चिरन्तन
सहस्राब्दी नबित्दा नै यसको दुर्दशा किन।

जननीतुल्य हो भाषा सधैँ जो छ उपेक्षित
ढले वाङ्मयको खम्बा नहोला राष्ट्रको हित।

मातृभाषा छ वक्ताले बोल्न मान्यो जहाँ डर
त्यहाँ वाङ्मय,भाषाको फैलिने ठाउँ हुन्छ र?

आमा जीवनदात्री हुन्,भाषा हो परिचायक
वाणीभित्र अटेको छ मान्छेको सभ्यता जग।

खेलाँची नगरे राम्रो, भाषा वैभव हो बुझी
भाषा,संस्कृति मासेमा सिद्धिएला सबै खुसी।

ऐना हुन् देश हेर्ने यी भाषा, वाङ्मय, संस्कृति
जगेर्ना गर्नु हो धर्म आओस् जस्तो परिस्थिति।

भाषा हुन् जननीजस्तै,मार्ग हो पान्थखातिर
भाषाका वनमाराले गाँज्न थाल्यो सबैतिर।

छ दु:शासनको कृत्य, सर्वेसर्वा छु भान छ
‘दाउकी द्रौपदी’ जस्तै भाषाको अपमान छ।

आमाका काखमा सिक्ने भाषा जीवनदायिनी
खेलाँची नगरौँ कोही एकता-सूत्र हुन् यिनी।

विरोधाभासझैँ आए आआफ्नै बलिया मत
हो भाषा फेरिने गर्छ बेला बेला स्वभावत:।

जबर्जस्ती बदल्नेमा पैसाको खेल हात छ
‘नबदल्ने’, ‘बदल्ने’ यी दुबैमा अतिवाद छ।

न उस्तै रहने वाणी न फेरिन्छ गरी कर
मर्यादाभित्रको भाषा होला जीवन्त सुन्दर।