रमेश लामिछाने अबिरल
बजारमा नुन किन्न गएका बा अबेरसम्म फर्किएनन् । पाकेको भातमा तातो वाफ उडेर सक्किसक्यो । तरकारी के पकाउने, कसरी पकाउने ? भुन्टेले बहिनी सुतेको झोलुङ्गो हल्लाउँदै बा आउने बाटो नियालिरह्यो । यत्तिकैमा एउटा गाडी भुन्टेको घरछेउ आएर रोक्कियो । गाडीभित्र कोको थिए उसले मेसो पाएन । गाडीको पछाडि टाँगिएको ब्यानरका ठुल्ठुला अक्षरमाथि उसले आँखा दौडायो;
`राष्ट्रिय विद्यार्थी भर्ना अभियान : २०८०´
`समयमै भर्ना, समयमै ज्ञान ।
गुणस्तरीय शिक्षा सबैको अभियान ।´
भुन्टेले आधाआधी कुरो बुझ्यो । उसले यो कुरा रेडियोबाट पटकपटक सुनेको थियो । अस्ति भर्खर ५ कक्षा उत्तीर्ण गरेको भुन्टेलाई बाँकी कक्षा पढ्न १ घण्टा पैदल हिडेर बेसी जानुपर्ने हुन्थ्यो । गाडीबाट ओर्लिएका ६/७ जनामध्ये १ जनाले भुन्टेका बालाई बाटैदेखि बोलाए । सङ्कोच मान्दै भुन्टेले जवाफ फर्कायो, “बा त बजार गा’छन्, आ´छैनन् ।”
“ए, ल ल ! हामी पछि आउँछौँ ।” यति भनेर तिनीहरू गाडीमै चढे। भुन्टेलाई गाडीको छेउमा पुग्न मन लाग्यो र उतै दौडियो । हेर्दाहेर्दै गाडी हुँइकियो । धूलोले भुन्टेको मैलो अनुहार अझ मैलो बनायो ।
भुन्टेलाई पढाउने विषयमा उसका बाआमाबिच कुरा मिलिरहेको थिएन । बा भन्दै थिए, “सरकारले किताब पो दिन्छ त, कापी किन्नु परेन ? दिउँसो खाजा पो दिन्छ त, समयमै खुवाएर स्कुल पुर्याउनु परेन ? नयाँ झोला पो दिन्छ त, वर्षभरि लगाउने जुत्तापोसाक चाहिएन ? सानोतिनो खर्चले पुग्ला भन्ठानिछस् ?”
आमा भन्दै थिइन्,”अब पाँचै वर्ष धान्न पाए, ऊ पनि त कमाउन सक्ने हुन्थ्यो ।”
बाले केही समयको मौनता छिचोलेर सुस्ताउँदै जवाफ फर्काएका थिए,”तँ मुटुको रोगी छेस्, उपचार छाड्न नि भएन । छोराका लागि भनेर तँलाई गुमाउन पनि त सक्दिनँ नि म ! पाँचपाँच वर्ष भइसक्यो मृगौलामा पत्थरी भएको औषधीकै भरमा हिँडेको छु । अर्काको जग्गामा लगाएको खेती कहिले असिनालाई, कहिले बाढीलाई हुन्छ ! सरकारले स्वास्थ्यशिक्षा नि:शुल्क भन्ने मात्र रहेछ, गर्ने रहेनछ…!” त्यसदिन बा आमाबिच अरु केके कुरा भयो । भुन्टेले थाहा पाएन ।
साथीले पिठ्युँमा धाप मारेपछि भुन्टे झस्कियो,”अबुइS…! ए, यो पो रहेछ! नयाँ ड्रेस लगाएर हिरो भएछस् त !”
“तँ, स्कुल जान्नस् र? झन् आज त पहिलो दिन ! झोलाकिताब बाँड्छन् स्कुलाँ…!”
“म त जान्नँ होला, बा आ’कै छैनन् । भात खा’को नि छैन, भर्ना भा’को नि छैन ।
“हिड् न हिड् जाऔँ आज कत्ति रमाइलो हुन्छ।”
“मेरा बा पनि रोगी, आमा नि रोगी ! तँ बन्लास् डाक्टर, मै बन्छु जोगी !”
“अँ, कत्ति सिपालु छस् नि बोल्न । तँलाई कसले सक्छ र ?”
यत्तिकैमा अघि भर्खर गाडीमा गएका ती नौला मानिसहरू भुन्टेका बासँगै घरमा आए । “उहाँहरू हाम्रो नगरपालिकाका नगरप्रमुख, वडाका अध्यक्ष र विभिन्न दलका नेताहरू हुनुहुन्छ ।” बाले चिनाएपछि भुन्टे र उसको साथीले एकसाथ नमस्कार गरे । पिँढीमा गुन्द्री बिच्छ्याएर आतिथ्यता दर्साए । नगरप्रमुखले भुन्टेलगायत पालिकाभित्रका अन्य विपन्न विद्यार्थीलाई लाग्ने सम्पूर्ण शैक्षिक खर्च पालिकाबाट उपलब्ध गराउने वचनबद्धता व्यक्त गरे । वडा अध्यक्ष र दलका प्रतिनिधिहरूले पनि पालिकाको यस योजना कार्यान्वयनमा सघाउने वचन दिए । भुन्टेका बाआमाको उपचार पनि नगरपालिकाकै सहयोगमा प्रदेश अस्पतालमा हुनेभयो ।
भुन्टे त्यसैदिन विद्यालय गयो । विद्यालयको गेटमा टाँगिएको ‘राष्ट्रिय विद्यार्थी भर्ना अभियान´को ब्यानर देखेर उसले बिहान घरमा आउनुभएका सबैलाई पुन: सम्झियो । उसले खुसीसाथ नयाँ विद्यालयमा प्रवेश गर्यो ।