“भोलि”

तुलसी पण्डित

जीवन के हो ? कसरी चल्छ ? चाहना के हो ? कसरी दबिन्छ ?
आज रत्नवीर निकै छक्छकाएको छ । उसको निधारबाट खल्खलि पसिना आइरहेको छ । आफ्ना चाहना कहिले पनि पूरा न हुने भए ।छेऊ मिलाउन खोज्छ बिचमा प्वाल पर्छ । प्वाल टाल्न खोज्छ छेऊमा च्याँतिएको हुन्छ । कतैबाट मेसोमेलो मिलाउन न सक्दा ऊ विगत सम्झन पुग्छ ।


हो रत्नवीर बाबुको एउटै छोरो हो । उसका बाबाले निबेक मजदुरी गरेर उसलाई एम ए सम्म पढाएका थिए । उसले घरमा काम कहिले पनि गर्नु परेन । उसले मागेका सर्वत्र चिज बाबुले पुर्याई दिएका थिए । बनभोज होस् घुम्न जान होस् ।फिलिम हेर्ने होस् उसले पैसा माग्ने बित्तिकै पाई हाल्थ्यो ।
एकदिनको कुरा हो । घरमा आफन्त दाजुको विबाहको निम्तो आयो । जन्त जानु पर्ने । तर जन्त जाने कपडा छैन । रत्नवीरले बाबा सँग गुनासो राख्यो । “बाबा मेरो जन्त जाने राम्रो कपडा छैन । बाबाले रातारात पैसा खोजेर सुठबुठ सहित सबै कपडा ल्याई दिनु भयो । ऊ तिनै कपडा लगाएर जन्त गयो । बाबा पनि जन्त जानुु भयो । तर बाबाको पुरानो सट पाइन्ट र च्याँतिएको चप्पल थियो । ऊ बा सँगै जन्त गयो । बाबा उसको कोट पाइन्ट जुत्ता हेरेर रमाइ रहनु भएको थियो । उसले सोच्यो । “हो बुबाले कहिले पनि गतिला कपडा लगाउनु भएन । झन् जुत्ता त किन्दै किन्नु भएन । आमाका लागि पनि बाबाले प्रशत्त कपडा र गहना किनि दिनु भयो । आमा पनि कतै जानु पर्यो भने ठाँट्टिएर हिड्नु हुन्थ्यो तर बा सधै झुम्रेझाम्रा मानै चित्त बुझाउनु हुन्थ्यो ।
ऊ सोच्थ्यो । किन बाबा सधैं पुराना कपडा लगाउनु हुन्छ ? नयाँ जुत्ता किन लगाउनु हुन्न ? कोट किन किन्नु हुन्न ? किन मीठो खानेकुरा खाने चाहना गर्नु हुन्न ? किन उहाँलाई ठाँट्टिएर हिड्न मन लाग्दैन ? उसले एक दिन बाबा सँग सोध्यो । “बाबा तपाईं किन कहिले पनि जुत्ता लगाउनु हुन्न ? किन सट पाइन्ट नयाँ न किन्नु भएको ? के तपाईलाई राम्रो भएर हिड्न मन लाग्दैन ?” बाबाले हाँस्दै भन्नु भयो । “छोरा तिमीले यो कुरा भोलि थाहा पाउने छौ ।”