बालकृष्ण गजुरेल
अंग्रेजी बर्षगाँठको समय थियो । एउटा साथीले जबर्जस्ती क्लबमा लग्यो । म पहिलो पटक पुगेको थिएँ । यूवतीहरु जता धनको वर्षा उतै झुम्दा रहेछन् । बत्तीको उज्यालोमा पुतली झुमे झैँ । मदिरामा लठ्ठिएका लठ्ठुहरु बेढंगका नाच नाच्दा रहेछन् ।
क्रिया गर्दा डोपामाइन, अक्सिटोसिन, एन्ड्रोफेन्स र सेराटोनिन जस्ता खुशी हुने हर्मोन निस्कन्छ भन्ने थाहा थियो । खुशी हुन म धक फुकाएर नाचेँ ।
“कस्तो पाखे रहेछ । पहिलो पटक क्लब देखेको रहेछ । खाने, पिउने केही गरेन । ” जाडोमा तिघ्रा देखाउँदै एउटा युवतीले च्वास्स पारिन् ।
भोलि पल्ट एउटा साहित्यिक कार्यक्रममा गएँ । हल चिनिन । झुक्केर अर्कै हलका पुगेछु । भित्र मिस तथा मिष्टर नेपालको कार्यक्रम हुँदै रहेछ । केही प्रतिष्पर्धी क्लबमा देखेकै थिए । प्रायोजक क्लबमा खुवाउने र पिलाउने थिए । दर्शक अष्ट्रलिया तथा अमेरिका बसेर क्लब धाउने थिए । कार्यक्रम सभ्य थिएन । भब्य थियो । मैले हाइट मिलेको नेपाली बहिनीलाई नेपाली पहिरनमा बुफे डिनर भएको ठाउँमा उभिन आग्रह गरेँ । उनले त्यसै गरिन् । म पनि नेपाली पहिरनमा सजिएँ । सुन्दरताको विज्ञान बुझ्नु थियो । कार्यक्रम सकेर सबै बफे तिर लागे ।
सबै युवाका आँखा तिनै यूवतीतिर ठोक्किए । केही धनाड्य यूवतीका नजर मैतिर ठोक्किए । झोकिँदै मिस नेपाल तथा मिष्टर नेपाल जित्ने यूवती र यूवा बोले, ” रंग न ढंगको लुगा लगाएका यूवा र यूवतीलाई किन जजहरु बारबार हेर्छन् ? ”
एक बौध्दिक जजले मुसु मुसु हाँस्दै फड्काए, “के थाहा र ! यी नक्कल गर्ने बजारका नक्कली मान्छेलाई असली माया ? फेसन नक्कल मात्र हो । असली माया त मखमली हुन्छ ।”