“महङ्गीको मार”

244

भागवती प्रसाद शर्मा

छन्द- शार्दूलविक्रीडित

किन्दा चामल भाउ दोब्बर भयो जीरा भयो चौबर।
त्यस्तै दाल र तेल छ दोब्बर यहाँ भन्छन् लुगा तेब्बर।
बाँच्ने हो कसरी बढेर महँगी घट्दैन केही पनि।
हामी गोबर हौँ कि मानिस भयौं छैन्नौँ विरोधी पनि।

ठूल्ठूला स्वर गर्दथे अघि यहीँ मास्ने सबै शोषक।
पूरा हुन्छ समानता अब यहीँ खोस्छौँ सबै त्यो हक।
आफैँ छन् सरकारमा तर कहाँ बढ्दै गयो ज्यादती।
छैनन् आज विरोधका स्वरहरू साह्रै भयो दुर्गति।।

आयो है जब चाडपर्व मुखमा बढ्छन् महङ्गी यहाँ।
माथिल्ला सरकारले छुट दिई खान्छन् कमाई जहाँ।
उद्योगी पनि भाउ बढाउन भनी पैसा बुझाई दिने।
मर्ने ता जनता गरीब निमुखा कस्ले कुरा सुन्दिने।।

रातारात सदैव तस्करहरू उस्तै यहाँ गर्दछन्।
सेक्छन् ढाड यिनै यिनै तवरले ज्यामी सधैं मर्दछन्।
हाम्रा यी दुःख दर्द को बुझिदिने नेता विधाता छ को।
हाम्रो होइन शासकीय थिति यो मर्ने कटेरो त हो ।।

लाएका सुकिला लुगा पनि तिनै छोरा बुहारी उही।
लाएका गहना न फेर्छ विधिले फेरिन्न फेर्ने त्यही।
दुब्ला ती उपियाँ तथा उडुसका झन् ज्यान मोटा हुने।
ल्याएको गणतन्त्र होइन यहाँ राजा नयाँ फेरिने।।