मुक्ति गौतम
कालापहाड, मणिपुर (भारत)
‘हजुरबा ! आज म जन्मेको दिन हो त । मेरो जन्मदिनमा मलाई मायाको चिनो दिनु हुन्न ? ?’ कक्षा छ मा पढ्ने दृष्टिले पलापिंदै भनी ।
‘भन के चाहियो तिमीलाई ? मेरी नातिनीले जे भनेपनि किनीदिन्छु ।’ हजुरबाले दृष्टिलाई मुसार्दै भने ।
‘म जे भन्छु त्यही किनी दिनुपर्छ नि ।’
‘हुन्छ हुन्छ हिड जाउँ ।’
दृष्टिले हजुरबुबालाई नजिकैको एउटा कपडा पसलमा पुर्याएर भनी–‘हजुरबा मलाई स्कुलका एक्ट्रा युनिफर्म सेट र पुस्तक कापी किनीदिनु होस ।’
‘जन्मदिनको खुशियालीमा त हिजोआज चलन चल्तीमा चलेका र राम्रा राम्रा फेसनका कपडा हेर न । हुन्छ हुन्छ एक्सट्रा युनिफम पनि किनी दिउँला ।’ हजुरबुबाले भने ।
दृष्टिले जुतामोजा सहित स्कुल युनिफार्म पेक गर्न लगाइ । छेवैको पुस्तक पसलबाट उसको कक्षाका लागि चाहिने जम्मै किताब र खाताहरू पनि लिएर आई । हजुरबुबालाई दुबै पसलको बिल दिई । हजुरबुबा आश्चर्यचकित भए । केही नबोली दुबै पसलको आठहजार रुपैया बिल तिरे ।
दृष्टिको योजना अनुसार हजुरबुबालाई एउटा रेस्टुरेन्टमा लिएर गई । उसले उसकी कक्षाकी मिल्ने साथी मालतीलाई पनि बोलाएकी थिइ । उसले दुईवटा पिज्जाको अर्डर गरी । पिज्जा खाइसकेर दृष्टिले स्कुल युनिफार्म र किताब मालतीलाई दिंदै भनी–
‘मालती तिमी भोलिदेखि स्कुल आउनु ल । तिमी म भन्दा पढन जान्दछेउ । तिमीले मलाई होमवर्क पनि सिकाइदिन्छेउ । तिमीले पढन छाडनुहन्न । तिमीले धेरै पढी सकेर जागिर गर्न थालेपछि त तिम्री मम्मीले पनि कसैको घरमा पोछा लाउनु पर्दैन नी । मेरो जन्मदिनको खुशीयालीमा तिमीलाई यो मेरो ‘मायाको चिनो’ प्लीज मालती समाउ ।’
मालतीका गहभरी आँसु भरिए । उता हजुरबुबा मनमनै नातिनीको उच्चदृष्टि देखेर आफ्नो विगत सम्झीरहेका थिए ।