“माया”

151

सत्या अधिकारी

हेर्दै लोभलाग्दो।
प्लेटभरी फलफुल, आँगनको मिठाइको ठूलो प्याकेट, काजु किस्मीसको ठूलो बट्टा अटाई नअटाई थियो टेबलमा।
सजावट हेर्दा लाग्थ्यो, सन्तान हुनु त यस्तो। कति धेरै परिकार आमाको लागि।
बिहानको समय थियो। परिवार सबै जम्मा भए। पालैपालो सबैजना मिस्टान्नले भरिएको टेबल नजिक आमालाई राखेर फोटो खिच्दै थिए। टिकटक पनि बनाउन भ्याए।
आमाको मुख हेर्ने दिन सबैकोआँखा भने क्यामेरा तिर मात्रै थियो। आमा भने कहिल्यै नदेखेका परिकार हेरेर थुक निल्दै हुनुहुन्थ्यो। फेसबुक लाइभ पनि भैरहेको थियो। “यतिधेरै खानेकुरा मेरा लागि? कहिले खाइसक्ने होला? अनि कोठामा कहाँ राख्ने?” भन्ने खुशी उहाँको आँखामा सजिलै पढ्न सकिन्थ्यो। फोटो खिच्ने क्रम सकियो।
सानी नातीनीले हजुर आमालाई सोधिन् ” हजुरआमा! कहिले खाएर सक्नुहुन्छ यो सब खानेकुरा? मलाई पनि दिनु है?”
नातिनीको कुराको उत्तर हजुरआमाले दिन नपाउँदै बुहारी बोलिन्। ” यो त बिष हुन्छ उहाँलाई। फोटो खिच्न र टिकटक बनाउनलाई मात्र ल्याएको हो नानु। ऐले पछी लगेर आश्रममा बाँढ्ने हो।”