राजन कार्की ( पाजु)
धरान १३ सुनसरी
आमोद र विनोद अत्यन्तै मिल्ने साथी । एउटाको काम पर्दा दुबै सँगै जुट्थे। एउटालाई चोट लाग्दा अर्कोलाई पिडा हुन्थ्यो। गाउँ घरमा मित्र तथा मित्रता को कुरा चल्दा आमोद विनोदको उपमा लिने गर्दथे सवै ।
आज वस्तु बाख्रालाई घाँस लिन दुबै जंगल पुगे । बिच जंगलमा पुगेपछि अकस्मात् अगाडि भालुसँग जम्काभेट भयो। उनीहरु दुबै हत्प्रभ भए। आमोद अलि छिटो थियो, विनोदलाई छाडेर हत्तपत्त रुखमा चढ्यो। विनोदलाई पर्यो फसाद्!!!
विनोद पनि सम्हालिँदै हत्त न पत्त जमिनमा घोप्टो परेर लमतन्न भयो। यतिकैमा भालु नजिकै आयो र विनोदको पैताला देखि शिरसम्म सुँघ्यो र छोडेर गयो।
भालु गैसकेपछि आमोद रुखवाट ओर्लेर विनोदलाई उठाउँदै ठट्यौली पारामा भन्यो, ” के हो साथी; भालु कानेखुसी गर्दैथ्यो त के भनेर गयो हँ ?”
आमोदले आफुलाई ओल्चेर बोलेको विनोदलाई अलि मन परेन र भन्यो, “आपतमा सहयोग नगर्ने साथीको कहिल्यै भर नपर्नु भन्यो !”