मुस्कान


तुलसी पण्डित

मेला जान लागेकी आमालाई बच्चाहरुले सानो स्वरमा भने, “आमा हामीलाई पनि ल्याइदिनु है ?”
आमा सोच्छिन्।
विचराहरु। घरमा टन्न खान पाएको भए यसो भन्ने थिएनन् होला। एक मानो चामल पकाएर सातजनालाई एकै चोटी भाग लगाउनु पर्छ। उनीहरु अझ छिटोछिटो खाइ सकेर आफ्नो भागमा हेर्छन्। सबैलाई त्यै आफ्नो भाग अलिअलि थपिदिन्छु। तै रमाउन्नन् उनीहरु।
मेलामा खाजा खाने बेला भयो। घरबेटी आमा कराउनु भयो। “यो कालेकी आमालाई खाजा न दिए पनि हुन्छ। कहिले खाजा खाने होइन।”
अर्की खेताली बोलिन् ।
“घरवेटी आमा छोराछोरीको माया कस्तो हुन्छ थाहा छैन र हजुरलाई?”
“हेर मैले खाजा पोको पारेर केटाकेटीहरुलाई कहिले पनि घरमा लगिन। बच्चाहरुलाई टन्न पेटभरी खान दिएपछि कहाँ आस गर्छन् र।” खाजा माग गर्ने बच्चा कि आमा सोच्छिन्।
“भए कसले दिदैनथ्यो र आफ्ना छोराछोरीलाई।”
घरबेटी आमाले दिएको खाजा उनले पोल्टामा राखिन्। बेलुका घर गएपछि बच्चाहरूलाई खान दिइन्। बच्चाहरुले खुशी हुँदै खाजा खाए। यसमा उनी रमाइन्। उनले सोचिन्।
“साहुनीको गालीको तिखो वाणलाई भुलाउन सक्ने शक्ति त अहिले पो पाए उनीहरुको मुस्कानमा।”