श्रीप्रसाद पोखरेल
इटहरी, सुनसरी
“बाबा ! आज नाम लेखाउन जाने है ।” पुर्णेले भन्यो ।
“म आज काममा जानैपर्छ । म भोलि उहिँ आएर नाम लेखाइदिउँला । हुन्न ?”
साँझ पुर्णेले स्कुलबाट फर्केपछि स्कुलको बिल बाबालाई दियो ।
बिलमा, भर्ना शुल्क, स्कुललाई तिर्नुपर्ने सहयोग, किताबकापी र नानीको पोशाकको मूल्य थियो ।
हिजो मात्र बजारमा “शिक्षामा सबैको पहुँच” भन्ने जुलुस देखेको गोफ्ले माइलोलाई आज विद्यालयको बिल देखेर चक्कर लाग्यो । आफू उभिएको जमिन भासिए जस्तो भयो । मुटुको मुल फुटेर आँखाबाट बहन थाल्यो ।
“बाबा ! किन आँसु झारेको ?” पुर्णेले सोध्यो ।
“नानी ! खुसी भएर ।”
“खुसी हुँदा आँसु आउँछ त ?”
“यो वर्ष देखि तिमी स्कुल नजाने । घरैमा पढ्नु अरे ।”
“किन बाबा ?”
“किनकि,…….. तिमी स्कुलकै सबै भन्दा जान्ने विद्यार्थी हौ अरे ।”