युगल बसेल
गोठमा छ माली गाई
कति माया छ मलाई
मुन्टो हल्लाई हल्लाई
घाँस देऊ ,भन्छ मलाई।
साउनैमा ब्याइदेओस्
कौडे बाछो पाइदेओस्
बिगौती नि ख्वाइदेओस्
चारै माना दूध देओस।
बाले किनी ल्याएको
मैले मन पराएको
सपनामा नि देख्छु म
यसकै बुबु खाएको।
डेरीको दूध खानेले
गाईको दुध चिन्लान् र
पोके दुध छोडेर
गौवाको दूध किन्लान् र।
आमा, हाम्रो कुँडेमा
मालीको दूध तताउनू
रुन थालेँ भने म
बुबु दिई फकाउनू।