“मेरो सानो भाइ”

घनश्याम रेग्मी

स्कुलबाट फर्केर
पोशाक जुत्ता खोलेर
हातमुख धोएथेँ
खाजा चिया खाएथेँ
झोला खोलेँ मिलाएँ
तुम्लेट डिब्बा थन्काएँ
काम थियो घरको
लेख्नु पर्ने लरको
लेख्न बसेँ म चाहीँ
थिएन मेरो ध्यान काहिँ
कताबाट खेल्दै खेल्दै
आईपुग्यो भाइ त्यहीँ
तस्बिर चित्र देखेर
खेल्ने चिज सोचेर
मैले लेख्या हेरेर
कापीभरि केरेर
क क गर्छु म पनि
भन्दै जिद्दी गरेर
तान्न थाल्यो किताब
च्यातिएर बिजोग
मैले यता तानेको
भाइले उता तानेको
कति पाना च्यातिए
थिएन उसले जानेको
होमवर्क गर्न दिएन
आमालाई फुर्सद थिएन
भाइ लाग्यो चिच्याउन
सकिन मैले भुल्याउन
आमालाई बोलाएँ
फुल्याउनलाई अह्राएँ
आमाले बुबु दिनु भो
भाइ त चुस्दै नुनु भो।