अनन्त कुमार बस्नेत
(भुजङ्गप्रयात)
म संसारको चित्र हेर्दै विचित्र
छु कोरी बसेको कुनै एक चित्र
बडो यत्नले खर्चिँदै जिन्दगानी
बसी चित्र हेर्दै छु आनन्द मानी ।१।
यही चित्रमा स्वप्न देख्ने म गर्छु
उठी स्वप्नका बात लेख्ने म गर्छु
सजेको छ यो वक्षको कक्षभित्र
घुमेको छ आकर्षिणी अक्षभित्र ।२।
छ इच्छा भरूँ चित्रमा रङ्ग नौलो
बनोस् रङ्ग आफैँ सुनौलो सुनौलो
यही चित्रमा पोतियूँ रङ्ग बन्दै
सबै हेर्न आऊन् अहो चित्र भन्दै ।३।
म देखूँ यही चित्रमा चन्द्र तारा
र नैराश्य मानी झरेका सितारा
कुनै भाग्यशाली कुनै कर्महारा
म देखूँ यहीँ विश्व ब्रह्माण्ड सारा ।४।
बलोस् दिव्य सौन्दर्यले यो धपक्क
तथा ढाकियोस् हैम जस्तै छपक्क
यही चित्र नै प्रीतिको होस् गवाही
गरून् चित्रमा लोकले वाहवाही ।५।