विष्णु भण्डारी आचार्य
बेलबारी ,मोरङ
हाम्रो स्कुलमा दुईदिनको लागि बिदा गरिएको सूचना सुनाइयो । “अब स्कुल पनि दुईदिन छुट्टी भयो, छुट्टीमा के गर्छौ तिमीहरु ? अरु साथीहरु कसैले घुम्न जाने कुरा गरे ,कसैले मामाघर जाने कुरा गरे,मैले केही नबोलेको देखेर मिसले भन्नुभयो, साध्या तिमी त बोलिनौ नि,तिमीलाई छुट्टी भएको मन परेको छैन हो ?” “छ, तर म त घुम्न टाढा जादिन, फुपूहरु आउनुहुन्छ,घरमै रमाइलो गर्ने ,अनि मन्दिर जाने ।” “ल,ल, रमाइलो गर । बाइ बाइबाइ ।” हामी स्कुलबाट सर मिसलाई बाइ गर्दै गुरुरुरर बाहिरियौँ ।
तीजको बेला सबैतिर रमझम थियो । राता लुगा लगाएका छोरीमान्छेहरु तीज मनाउन आआफ्ना जन्मघर जाने क्रम भइरहेकोथियो । तीजको रहर आयो बरिलै तीजको रहर आयो बरि लै जताततै तीजको गीत घन्किरहेको सुनिन्थ्यो । मामुलाई पनि मामा आएर लिएर जानुभयो । बाबाले तिमी नजाउ है छोरी तीजमा मामुसँग । हामी सबैजना भएर दशैँमा जाऔँला नि मामाघर भन्नुभयो । म घरमै बसेँ । बाबाले फुपूलाई फोन गरेर बोलाउनुभयो । बसबाट ओर्लिने ठाउँसम्म म ,र बाबा गयौँ फूपुलाई लिन । फुपू सँग भेट भएपछि मैले खुसी हुँदै फुपूलाई नमस्कार गरेँ । लौ,मेरी भदै पनि आइछन् मलाई लिन भन्दै मायाले अगालोमा बेर्नुभयो र मायाले मेरो गालामा चुप्पा गरि म्वाइ खानुभयो । फुपूले मलाई राम्रो हेयरबिन र चिम्टी ल्याइदिनुभएको थियो । म खुसीले अझ फुरुङ्ग भएँ । तीजका दिन म फुपूहरुसँग मन्दिर जान पाउने कुराले ममा अझ खुसी थपिएकोथियो । “फुपू म पनि भोलि तपाईँसँग मन्दिर जान्छु है ।” पोहोर साल पनि फुपूहरु मन्दिर गएको देखेकी थिएँ ,फुपूको छेउमा गएर खुसी हुँदै भने । “किन जान्छेउ है ?”खिस्स हाँस्दै भन्नुभयो उहाँले । “नाच्न ।” “ल ल जाऔली हामीसँगै ।” फुपूसँग मन्दिर जान पाइने खुसीले म छिमेकी साथीहरु आरजू,प्रवेश ,निनु ,स्रेना एन्जीलालाई सुनाउन कुदेँ । “हेर म त भोलि फुपूसँग मन्दिर जान्छु पो त ।” यो सुन्साथ उनीहरुले भने, “आपुइ ! हामी पनि जान्छौँ नि ।” “जाने भए भन न त आफ्नो घरमा ।” राती भएपछि हजुरआमाले दर पकाउनुभयो ।सबैजना राती उठेर मिठो मानीमानी दर खायौँ । भोलि ब्रत बस्ने कुरा सुनेर मैले पनि भने “फुपू म पनि भोलि ब्रत लिन्छु है ।” फुपूले मायाँलु बोलीमा भन्नुभयो,“पर्दैन नानी, तिमी सानी मान्छेले ब्रत लिनुहुँदैन ।तिमीजत्राले त टन्न खानेकुरा खाएर जाने, अनि नाच्ने है ।” मैले हुन्छको भावमा टाउको लर्काएँ । राता लुगा लाएर फुपू अरु साथीहरुसँग मन्दिर जानुभयो । म पनि मामुले ल्याइदिनुभएको रातो जामा र फुपूले ल्याइदिनुभएको हेयरबिन चिम्टी लगाएर फुपूसँग गएँ । मेरा मिल्ने साथीहरु पनि जाने भएकोले म रमाउँदै साथीहरुलाई खबर गर्न उनीहरुको घरतिर हान्निएँ । मन्दिर पुगेपछि अरु साथीहरुसँग पनि चिनजान भयो मेरो । गीत घन्किरहेको थियो ,हामीहरु त्यहाँ दिनभरि नाचेर रमाइलो गर्यौँ । मेरा प्यारा साथीहरु तपाईँहरु चाडबाडमा आफ्ना परिवार र साथीहरुसँग यसरी नै रमाइलो गर्नुभयो होला तीज मान्नुभयो होला हैन त ।