प्रेरक प्रसंगः
कुनै सहरमा एक महिला थिइन् । उनलाई साधारणभन्दा साधारण कुरामा पनि झनक्क रिस उठ्थ्यो । उनको यस्तो बानीका कारण पूरै परिवार हैरान थियो । उनको रिसका कारण घरमा जहिल्यै कलह र अशान्तिको माहोल बनिरहेको हुन्थ्यो ।
एक दिन तिनै महिलाको ढोकामा एक साधु भिक्षाटनका क्रममा पुगे । उनले साधुलाई भिक्षा दिँदै गर्दा आफ्नो समस्याबारे बताउँदै भनिन्– साधु महाराज, ससाना कुरामा पनि रिस उठेर म हैरान भइरहेकी छु । मेरो यस्तो समस्याले परिवारमा जहिल्यै अशान्ति हुन थालिसक्यो । यसबाट छुटकारा पाउने कुनै उपाय छैन ?
उनको समस्या सुनिसकेपछि साधुले आफ्नो झोलाबाट एउटा सानो सिसी निकालेर ती महिलालाई दिँदै भने– जबजब तिमीलाई कसैबाट या कुनै कुराबाट रिस उठ्छ, त्यतिखेर यसबाट तीन–चार थोपा मुखमा हाल्नु र १० मिनेटसम्म मुखमै राखिराख्नु । त्यतिन्जेल मुख नखोल्नू । याद गर्नू, बीचमै मुख खोल्यौ भने औषधिले काम गर्दैन ।
महिलाले साधुले भनेअनुसार औषधि सेवन सुरु गरिन् । र, सात दिनमै उनको रिसाउने बानी छुट्यो । सात दिनपछि तिनै साधु पुनः उनको ढोकामा आइपुगे । साधुलाई देख्नासाथ ती महिला उनको पाउमा परिन् । उनले भनिन्– साधु महाराज, हजुरले दिएको औषधि सेवन गरेपछि मेरो रिस अचानक गायब भयो । अब त मलाई कत्ति पनि रिस उठ्दैन । मेरो परिवारमा पनि अब त शान्तिपूर्ण माहोल छ । यस्तो अचुक औषधिका लागि हजुरलाई धेरैधेरै धन्यवाद छ ।
साधुले भने– तिमीले जेलाई औषधि ठानेर सेवन गर्यौ, त्यो सामान्य पानी मात्र थियो । तिमीले पानीलाई औषधि ठानेर सेवन गर्यौ र १० मिनेटसम्म चुपचाप बस्यौ । त्यसैले, तिम्रो रिस शान्त भएको हो । रिसको औषधि भनेकै मौनता हो ।
श्रोतः https://www.nayapatrikadaily.com/news-details