भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट : ४, नवलपुर
“हैन, कति खान सकेको हो, यो झोल पनि ? खान पनि हेर दिउँसै खाएको छ ? कसैले देखेभने नि के भन्लान् ? छि ! कस्तो लाज नभएको मान्छे होला ?घरमा जवान छोरी छ।हैन ! मैले रक्सी पिउँदै हिँड्दा छोरीको मनोविज्ञानमा कस्तो असर पर्ला भन्ने नि नसोच्ने किन होला ? आजकल त झन घरबाट बाहिर हिँड्न पनि खोज्दिन ? बुझ्ने भइछे छोरी यसो सोच्नु भएको छ केही ? अस्ति पसलमा तरकारी किन्न पठाएकी थिए । त्यहीँ पसलमा नै तपाईका बारेमा सोधेछन् । लाजले भुतुक्कै भइछे । अचेल मलाई बाहिर नपठाउनु है ! आमा भनि । कम्ता पिर परेको छ मलाई ? तपाईले बुझ्नु भएको छ । स्वास्नीले लोग्नेलाई हकार्छे ।
अनि फेरि मलिन हुँदै ! “घरमा विहे गर्ने बेला भएकी जवान छोरी छे । जिम्मेवारी को त कुरै भएन ? कोही माग्न आए भने नि बाउको हालत यस्तो रहेछ भन्ने हुन कि ? कतै तपाईंको पिउने बानीले गर्दा छोरीको विवाहमा वाधा त आउँदैन ? भनेर उदास हुन्छे ।”
लोग्नेले ठाडो स्वरमा, ” हैन खाए त खाए मेरै बाउको खाए तलाई के को टाउको दुख्यो हँ ? नाथे, त्यसै ठूली भएकी छे । खान , लाउन पाकै छस् क्यारे ! तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदी रहिछे बडा !” लोग्नेले ठूलो स्वर गरे ।
” घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै दु: ख नगरी नहुने रहेछ । अझ हेर न कत्रो फुर्ती छ ? यसो घरको दु:ख सुखको कुरा गरौँ कि भनेको कहिल्यै नहुने भयो जहिले नि यस्तै हैरान भए म त । स्वास्नीले भनी।
लोग्ने ! ” घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन के गर्नु ? मलाई त माया गर्न जानेकै छैन , कराउन बाहेक । मलाई देखेपछि यस्लाई त उठ्ने रिसै हो । अरुका स्वास्नीले कति सम्मान गर्छन् लोग्नेलाई ? आफ्नो भने बिग्रिएको रेडियो झै जतिखेर नि क्यारक्यार क्यारक्यार । ” झिझ्झियो लोग्ने ।
अर्को दिन राम काकाले छोरीको विहेको लागि केटा लिएर हेर्न घर आए। स्वास्नीले लोग्नेलाई सुटुक्क भनि । “कतै रक्सी पिउने लत त छैन केटाको ? अलि राम्रोसँग बुझ्नु है ! आफ्नो पीडा सम्झेर झस्किई ।”