“लाज थोरै बचाऊँ”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : मन्दाक्रान्ता

जन्में हुर्कें जुन मुलुक मा , खेल खेलेँ रमाएँ
ऊर्जा साथै श्रम सिप कला , ज्ञान केही कमाएँ
त्यो माटो मा जप तप गरी , ज्ञान – गङ्गा बहाऊँ
दिन्थ्यो मीठा मृदुल रचना , कृष्ण भन्ने कहाऊँ।

मेरै माटो अतिशय महान् , लाग्छ संसार माझ
खोला नाला प्रकृति हरिया,स्वर्ग झैँ लाग्छ आज
भन्छन् जस्तो हिमशिखर ले,उच्च आकाश छोऊ
हीरा मोती मणि सुन सरि – सृष्टि मा खास होऊ।

हाँस्दै खेल्दै जुन मुलुक मा , प्रीति का गीत गाएँ
आँधी झेल्दै शिशिर सहँदै , नीति मा प्रीति लाएँ
त्यो माटा को गुण र गरिमा , बोक्नु हो धर्म मेरो
त्यै माटा को मधुर महिमा , घोक्नु हो कर्म मेरो।

शिक्षा पाएँ जुन मुलुक मा , ज्ञान विज्ञान पाएँ
दीक्षा पाएँ पल पल जहाँ , मान सम्मान पाएँ
त्यो माटा को हित पनि गरूँ , अङ्ग थोरै सजाऊँ
साडी चोली पहिरन दिऊँ , लाज थोरै बचाऊँ।

जाने नै हो अलिक छिन मै , काल आएर ताने
नाशिन्छन् यी सुन धन सबै , मृत्यु ले वज्र हाने
बस्दा बाँच्दा यस मुलुक को , कर्ज थोरै उतारूँ
आफ्नै सानो श्रम र बल ले , ठाउँ आफ्नै सुधारूँ।