लोभी आँखा


हेमराज अधिकारी
सिक्किम-भारत

बोट्मा लटरम्म भएर पाकेको सुन्तला देखेर मेरा आँखा टोलाए । मेरो घाँटीले घुटुक्क थुक निल्यो। मुख भरिएर आयो। जिब्रो आतुर थियो । भुँडी खाली थियो। मस्तिष्कले सोच्न थाल्योकि यो त अरु कसैको हो। मनले कताकता डर लियो।तर आँखा लालायित थिए।
धेरैबेर मन र मस्तिष्कको मथिङ्गल मन्थनपछि खुट्टा सुन्तलाको बोट् तर्फ सक्सकाउन थाले। आँखा बाठा भएर चारैतिर छरपस्ट थिए।कोहि आइहाल्छकि भन्ने ठुलो डर थियो। आखिर मेरा खुट्टालाई सुन्तलाको बोट्मा पुग्न कुनैबेर लागेन। आँखाले काँडो देख्दादेख्दै हातले छाम्दै बोट्मा यो शरीरलाई चढायो।मन र मस्तिष्कको मथिङ्गल दुवै वादविवादमा हुदाहुदै यि दुष्ट हातले भकाभक सुन्तला टिप्न थाले। करिब आठ दस दाना टिपेर शरीरले तृप्त लियो। बोट्को फेदमा झुन्डिदै खुट्टा खुत्रुक्क जमिनमा झरेका थिए ।औंलाले अघि कतिबेला सुन्तला तासी सकेका थिए।जिब्रोलाई स्पर्श गर्दै सुन्तलाका केस्रा मुखमा खपाखप पसिसकेका थिए। भुँडी कम्ती खुशी थिएन । शरीर सबै तृप्त थियोे ।अकस्मात कसैको गतिलो झापढ् गाला फुट्ने गरि बजारिए।
” मैले छानेर बेच्न राखेको बोट्को सुन्तला चोर्न तँलाई लाज लागेन “?
अघि शुरुमै आँखाले काम बिगारेको थियो ।
अन्त्यमा ,तिनै आँखा धुरुरु रुन थाले।गालाबाट क्रमश आँसुका थोपा झर्दै थिए। यतिबेर सम्म मुख नबोलेको हुदा फ़ेरि अर्को झापढ् अर्को गालामा बजारियो। अगति हातका औंला मुस्किलले जोड्दै बिन्ती गर्यो।
” माफ गर्नुहोला । आँखा लोभी मन पापी “!