सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
उनीहरु अस्पतालबाट फिरे।छोरोले वृद्धा बिरामी आमालाई डोर्याएर घरभित्र हुले र औछ्यानमा ढल्काए। त्यसपश्चात् झोलाबाट औषधीहरु निकालेर टेबलमा राख्दै थिए,अनायासै श्रीमतीको चर्को आवाजले झस्के। उनी घडी हेर्दै आत्तिन्दै थिइन् – “ला मेरो सिरियल सकिनै आँटेछ!”
उनले हत्तरपत्तर टिभी खोलिन् र पलङ्मा बसेर हेर्न थालिन्। श्रीमान भान्साकोठातर्फ लागे। तत्क्षणै आमा खोक्न थालिन्। खोकीको गति बड्दै गयो,बड्दै गयो। उनी राल,सिंगान र आँशुमा लतपत भइन्। अनुहार राताम्मे र श्वासमा तीव्रता थियो। स्याँ स्याँ गर्दै पानीको गिलासतर्फ इशारा गर्दै थिइन्।
त्यसताका छोरो आईपुगे। हत्तपत्त आमालाई उठाए। पानी पिलाए र मुख पुछिदिँदै श्रीमतीलाई हकारे- “आमाको ख्याल गर्नुपर्दैन?”
श्रीमतीले दुबै कानबाट औंलाको ठेडी निकाल्दै आँखा फुकालेर हेरिन्। उनी लुरुक्क परेर आमापट्टि फर्के। आमाको ढाड मुसार्दै रुञ्चे स्वरमा भने – “आमा,बिस्तारै खोक्नुपर्छ नि,अरुलाई बाधा पुग्छ!”
आमाले खोकी रोक्ने प्रयत्न गर्दै भनिन् – “सानोमा यही आवाजले गाएको लोरी नसुनी सुत्दैन थिइस्,अहिले बाधा भो!”