“वर्षा रानी”

शान्ति सिग्देल

तातो हावा हल्का हल्का
उर्ले खोला लागी बर्खा
धाँजा रोकी बाँझा रोकी
छारो मैलो रोकी छेकी।

डाँडाकाँडा खोलानाला
आभा छर्दै टल्के सारा
हेर्दा हेर्दै प्यारी धर्ती
लाग्छिन् मेरी छोरी जस्ती।

बास्ना छर्छन् फुल्छन् फूल
पाखा भित्ता फुट्छन् मूल
मस्की मस्की वर्षा रानी
हाँसो छर्छिन् लेग्रो तानी।

खुर्की खार्की कान्ला आली
यो बेलामा रोपे बाली
लाखौँ पाथी दिन्छिन् सानी
जल्दीबल्दी वर्षा रानी।

मोती जस्ती वर्षा रानी
गाना गाई नाच्छिन् सानी
यो धर्तीका प्राणी धेर
पाल्छिन् बाली हुर्काएर।