“वसन्त ऋतु”

169

अनन्तकुमार बस्नेत
मन्दाक्रान्ता

आभा छर्दै कुसुम कलिका फक्रिए कन्दरामा ।
यो बेलामा शिशिर ऋतुझैँ छैन जाडो धरामा ।।
घुम्दै फिर्दै सुभग महिना चैत्र वैशाख आयो ।
डाँडा पाखा हरित वनमा दिव्य सौन्दर्य छायो ।।

टल्के हाम्रा धवल रङका शैल घुम्टो उघारी ।
नेपालीका गहन मनमा भाव खासा उमारी ।।
चौँरी डाँफे पुलकित हुँदै हेर्न लाग्छन् बिहानी ।
कस्तूरीका मृदु पयरले लेख्न थाल्छन् कहानी।।

वासन्तीका मधुप वनमा मस्त छन् यो पलामा ।
नाच्ने गर्छन् छमछम गरी कोइलीको गलामा ।।
यो बेलामा प्रकृति दुहिता बेहुलीझैँ सजिन्छिन् ।
मानौ धर्ती अमरपुरकी किन्नरी मस्त लाग्छिन्।।

लाली छर्दै अब विटपमा फूल फुल्छन् गुराँस ।
बस्छन् सारा मुदित दिलमा हुन्न कोही उदास ।।
शोभा थप्छन् अतुलित यहाँ माधवी यी लताले ।
ज्योत्स्ना छर्छन् उपर नभमा सुस्तरी चन्द्रमाले।।

बोकेका छन् सुरभि सपना चित्तमा यौवनाले ।
हेर्ने गर्छिन् परम सुखले शाम्भवी शैलजाले ।।
यो वासन्ती उपवन सफा लाग्छ हेर्दा विचित्र ।
डुब्छन् सारा प्रमद मन यी चैत्र वैशाख भित्र।।