“वायु प्रदूषण र हाम्रो कर्तव्य”

घनश्याम रेग्मी

मन्दाक्रान्ता

हाम्रो धर्ती दिन दिन यसै बन्न लाग्यो कुरूप
केले यस्तो हविगत गरी पार्न थाल्यो विरूप
छारो उड्दै गगनभरमा यो तुवाँलो भरेर
हाम्रा राम्रा दिनकर यसै मुर्झिए झैँ भएर।

आगो लाग्यो वन चहुरमा हेर मुस्लो धुवाको
प्राणीलाई अझ सकस यो सास फेर्नै भएको
थोत्रा गाडी अझ पनि यसै चल्दछन् घ्यार्रघ्यार्र
कालो मैलो पवन धन यो गर्दछन् हुक्क दिक्क ।

हामी जागौँ प्रकृति अब ता पर्छ जोगाउनै लौ
हाम्रो धर्ती सुख मुख खिली पर्छ हाँस्नु अझै लौ
बानी पारौँ समुचित कुरा मात्र गर्ने प्रयोग
पानी रोकौँ जल जमिनको आद्रता होस् प्रसस्त ।

हामीले नै वन चहुरमा वृक्ष नाना लगाऔँ
पानी हाल्दै विविध फलका बोट खासा उँगाऔँ
राम्रो होला तरुवर बढे भूमि सम्पूर्ण हाम्रो
हामी जागे सकल धरणी बास बन्ने छ राम्रो ।

बाटो बन्ने क्रम छ अहिले उड्छ माटो धुलौटे
बर्खा लाग्दा फतफत गरी बग्छ माटो बलौटे
माटोलाई फुतुफुतु उता बग्न रोक्छन् जराले
गर्दै राम्रो तजबिज उठून् आजका यी युवाले ।

मन्दाक्रान्ता