तुलसी पण्डित
उसले क्याम्पस पढाउने विचार गर्यो । निवेदन दियो ।परीक्षा भयो । लिखितमा नाम निकाल्यो ।अन्तरवार्तामा क्याम्पसचिफले उसलाई सोधे । “तिम्रो बाबा के काम गर्नु हुन्छ ?”
मेरो बाबा किसानी किसानी काम गर्नुहुन्छ ।”
खै ! हात देखाउ त ? तिमीले बाबालाई कहिल्यै काममा सहयोग गरेका छौ ?”
“अँह मैले उहाँलाई कहिल्यै पनि सहयोग गरिन । उहाँले पनि मलाई यो काम गर भनेर कहिल्यै पनि भन्नु भएन ।”
“ल त्यसो भए तिमी घर जाऊँ । बाबाको हात राम्रो सँग धोएर रुमालले सफा गरि देऊ ।त्यति गरेपछि तिमी भोलि यहाँ आउँ ।”
भक्ते जिल्ल पर्यो । ऊ बेलुका घर गयो । बाल्टिनमा पानी ल्यायो र बाबाको हात धोइ दियो ।जब हात उसले समातेको थियो हात फलाम भन्दा पनि साह्रो रहेछ ।हात भरी फोहरा उठेर पट्पटी फुटेका थिए । अझ ठेला मात्र देखिन्थे ।बाबाको यो अवस्था देखेर ऊ धर्धरी रोयो ।
भोलि पल्ट ऊ क्याम्पस गयो । “मैले भनेको काम पुुरा गर्यौ ?”
” अ सर मैले हजुरले भने झैं काम पूरा गरे । अनि म बेस्कन रोएँ । किन भने बाबाले हामी प्रति कति दुख गर्नु भएको रहेछ भन्ने कुरा हिजो बल्ल थाहा पाए मैले ।” ” बाबाको दुःख सम्झेर मेहनतका साथ पढाउने छौ भन्ने मैले विश्वास लिएको छु ।”