प्रेमनारायण भुसाल
पछिल्लो समय अनैतिक र असामाजिक घटनामा वृद्धि भएका समाचार आइरहेका छन् । आमजनमानसमा यसको कारण नैतिक शिक्षाको अभाव हो भन्ने रहेको देखिन्छ । यसैले संस्कृत भाषा सिकाउने अथवा नैतिक विषय पढाउने भन्ने विषयमा बहस हुन थालेको छ । शिक्षासँग सम्बद्ध र असम्बद्ध व्यक्तिहरू पनि बढ्दै गरेका अनैतिक र असामाजिक घटनाको नियन्त्रणको अचुक औषधी नैतिक शिक्षा विषयको पठनपाठन नै हो भन्ने निष्कर्षमा पुगेको देखिन्छ । यसैले विद्यालय तहमा संस्कृत भाषा अथवा नैतिक शिक्षा सिकाउनु अपरिहार्य हो भनेर नैतिक शिक्षाका पाठ्यपुस्तकहरू पठनपाठन गराउने व्रmम पनि बढ्न थालेको छ ।
यी घटनाक्रमबाट हाम्रो समाज नैतिक र आचरणयुक्त व्यक्तित्व निर्माण गर्ने हो कि नैतिक शिक्षाका नाममा विभिन्न कथा पढाएर विद्यार्थीलाई भुलाउने हो भन्ने कुरामा अन्योलग्रस्त देखिन्छ । एक जना मित्रले मलाई उहाँकै शब्दमा संस्कृतका एक जना प्रकाण्ड विद्वान्सँग भेट गराउने कुरा गर्नुभयो । उहाँ गुरुकुल आश्रममा बसेर अध्ययन गर्नुभएको र संस्कृतको क्षेत्रमा निकै गहन अध्ययन र ज्ञान रहेको भन्ने कुरा सुनेकाले मलाई पनि उहाँलाई भेटौँ भेटौँ लागेकै थियो ।
उहाँसँग भेट्ने साइत पनि जु¥यो । उहाँलाई भेट्दा मेरो कल्पनाको प्रतिमूर्ति गल्र्यामगुर्लुम भयो । मैले जे जस्तो सोचेको थिएँ, त्यसको ठिकविपरीतको आचरण पाए । नसाले मत्त, अशोभनीय परिधान अनि दुर्वाच्यको धारा प्रवाह ।
एउटै घटनालाई सामान्यीकरण गर्न चाहेको होइन तर यस घटनाले मेरो मथिङ्गलमा भूकम्प भने ल्यायो नै । भ्रष्टको बिल्ला भिरेका कर्मचारी र नेताको शैक्षिक पृष्ठभूमि खोज्न मलाई उत्प्रेरणा पनि मिल्यो । अहिले जेलमा बस्दै गरेका वा सजाय भुक्तान गरिसकेका दर्जनभन्दा बढी व्यक्तिको पृष्ठभूमि नियाल्दा न त उनीहरू संस्कृत भाषाका अभावले न त नैतिक शिक्षा विषय पढ्न नपाएरै भ्रष्ट भएका रहेछन् ।
हामी जबरजस्ती असामाजिक कार्यको भावुक कारण खडा गर्ने दिशामा उद्यत भएका छौँ । यसै गरी निजामती सेवामा कार्यरत कर्मचारीलाई सेवा दिने समयमा कार्यालयमै योगका आधारभूत नियम र आचरणहरू परिपालन नगरीकनै ‘योगा’ का नाममा समय बिताऊ भन्ने गरिएको पनि पाइन्छ । एकै ठाउँ गजधम्म परेर बस्नु योग हुँदै होइन । यम, नियम, आसन, प्राणायाम, ध्यान आदि योगका आधारभूत कुरा हुन् भनेर कसले बताउने ?
अहिलेको समय सस्तो लोकप्रियता र सतही ज्ञानका कारण मानव समाजलाई दिग्भ्रमित गर्ने दिशामा केन्द्रित देखिन्छ । त्यसो त राजनीति होस् वा प्राध्यापन, सामाजिक सेवा होस् अथवा परराष्ट्र नीति सर्वत्र वास्तविक र तथ्यपरक कुराभन्दा दिग्भ्रमित गर्न सक्ने र समयानुकूलका नाममा पिपलपाते बन्ने प्रवृत्तिले प्रश्रय पाउने गरेको छ । लोक रिज्याइँका लागि देखावटी काम गर्ने चाटुकारहरू नै सर्वत्र विजयी देखिन्छन् । यस अर्थमा ‘एकम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्’ भन्ने संस्कृतको भनाइ यत्रतत्र सार्थक हुँदै गएको देखिन्छ ।
समस्याको चुरो कुरो
शिक्षाको उद्देश्य आचरण निर्माण र व्यवहार परिवर्तन हुनु पर्दछ । आचरण अन्तर्गत सोच्ने, सम्झने, बुझ्ने, प्रस्तुत हुने वा गर्ने आदि कुरा पर्दछन् तर हामीहरूले शिक्षाको उद्देश्य आचरण वा व्यवहार परिवर्तन गर्ने हो भन्ने परिभाषा घोक्न मात्र सीमित राख्यौँ । शिक्षाले शिक्षा अनुसारको आचरण र व्यक्तित्व नभई चलाख र बजारमा सहज बिक्री हुने कामचोर जनशक्ति तयार गर्ने उद्देश्य राखेपछि प्रतिफल कस्तो होस् त ?
नैतिक शिक्षाका नाममा कथा पढाएर र प्रश्नोत्तर गराएरभन्दा अन्तस्करणबाट मानवीय मूल्यबोध गराएर सिकाइ व्रिmयाकलाप गराउनु पर्दछ । पारिवारिक पृष्ठभूमि, सङ्गत र विद्यालयको वातावरण यसका लागि महत्वपूर्ण घटक हुन सक्दछन् । जीवनका वास्तविक यथार्थ र आपसी सम्बन्धका अन्तर्वि्रmया, सहयोग, सद्भाव, आदर र प्रेमका भावनात्मक र संवेदनात्मक सामाजिक प्रकार्यबारे व्यवहारतः स्पष्ट पार्न सके बालबालिकामा मानवीय संवेदनाको भावना जागृत हुन सक्दछ । यसको विपरीत आन्तरिक व्यक्तित्व अर्थात् व्यक्तिको नैसर्गिक प्रकृति र स्वभाव नबुझी जबरजस्ती आदर्श र व्यवहारका कुरा लाद्न खोज्दा व्यक्तित्व विचलन र व्यवहारमा असामान्यता देखा पर्दछ । हामीले बहस गर्दै गरेको कक्षाकोठामा विषयविशेषका रूपमा नैतिक शिक्षा अध्ययन गराउने कार्यले त भविष्यमा नैतिक शिक्षा विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी नै दूराचारी बन्ने सम्भावन बढ्छ ।
दृष्टान्तमा आएका व्यक्ति असल संस्कार सिकाइने गुरुकुलमा बसे पनि अन्तर्मनबाट आफू के गर्दै छु भन्ने विषयमा समर्पित हुन सकेनन् । उनी त्यहाँ बसुन्जेल अहिलेको समयमा पनि म पुरातन पोसाक र संस्कारमा बस्न बाध्य छु भन्ने हीनमनोग्रन्थीबाट आक्रान्त भए । त्यस परिवेशबाट बाहिर आउनासाथ आफूलाई अत्याधुनिक देखाउनका लागि आफूले प्राप्त गरेको शिक्षाविपरीतको आचरणमा प्रदर्शन गरे । उनमा विकास भएको हीनताको कुण्ठाले गर्दा असामाजिक, अनैतिक र दरिद्र सोचको विकास भएको रहेछ । यसको मूल कारक उनको शिक्षा र आचरण नमिल्नु नै हो ।
शिक्षा अनुसारको आचरण हुन सकेन भने चिकित्सकमा चिकित्सकीय सोच, न्यायाधीशमा न्यायिक मन, विद्वान् पण्डितमा आध्यात्मिक चिन्तन, सामाजिक अभियन्तामा सहिष्णुता र सहयोग तथा सेना–प्रहरीमा त्याग र बलिदानको अभाव रहन्छ । सम्बन्धित क्षेत्रसँग भावनात्मक सम्बन्ध नै नभएपछि ती क्षेत्रमा प्राप्त विद्वत्ताको कुनै अर्थ रहन सक्दैन ।
कुनै व्यक्ति विषयविशेषको राम्रो ज्ञाता हुनु नै पर्याप्त होइन, विषय अनुकूलको आचरण र चिन्तन अभिन्न पक्ष हुन् । अन्यथा चिकित्सकको पे्रस्व्रिmप्सन लागुऔषधको दुरुपयोगमा, शिक्षकको कलम अराजकता मच्चाउन र न्यायकर्मीको बोली गैरन्यायिक कार्यको संरक्षणमा केन्द्रित हुन्छ । रक्षक नै भक्षक बन्ने गरेका घटनाका पछाडि ती व्यक्तिको जिम्मेवारी र आचारसंहिता नमिल्नु नै हो । यसका लागि अनुशासन, आत्मानुशासन, पुरस्कार र दण्ड नीति कडाइका साथ लागु गर्नु पर्दछ । नैतिक शिक्षा पढाएर अथवा संस्कृत भाषा घोकाएर मात्र व्यक्ति नैतिकवान् बन्न सक्दैन, व्यक्तिमा सिक्नु पर्छ भन्ने भावना जगाई तदनुकूलको आचरणका लागि संस्कृत र नैतिक चेतना भर्न सक्नु आजको आवश्यकता हो । यसैले कुनै भाषाविशेष वा विषयविशेष जान्नु र त्यसमा आफू अनुलिप्त हुनु फरक विषय हुन् तर सङ्गत र परिवेशले व्यक्तित्व विकासमा अहम् भूमिका खेल्दछ भन्ने कुरालाई आँखा चिम्लनु भने हुँदैन नै ।
पश्चिमाले शिक्षामा अभिवृत्तिलाई जोड दिइसके । ज्ञान, सिप, अभिवृत्ति, मूल्य र उत्प्रेरणा वा लगाव शिक्षाका आधारभूत पक्ष हुन् भनी शिक्षालाई समाज उपयोगी र व्यवहार उपयोगी बनाउँदै आचरण पनि सोही अनुरूप हुनुपर्ने कुरामा उनीहरूले जोड दिएका छन् ।
अबको चिन्तन शिक्षा अनुसारको आचरण र अभिवृत्ति निर्माणमा केन्द्रित हुनु पर्दछ भन्ने विषयमा दुई मत हुन सकिँदैन तर अझै पनि एउटा विषयविशेष वा क्षेत्रविशेषलाई आर्थिक उपार्जनको माध्यम मात्र मान्न थालियो भने यसले नैतिक पक्षलाई झन् ह्रास गराउने छ । अनि समाजमा नैतिक शिक्षा उत्तीर्ण गरेकाहरू घोर अनैतिक र संस्कृत भाषा पढेकाहरू नै चरम् असंस्कृत व्यक्तिका उदाहरण बन्ने छन् ।
यस्तो अवस्था आउन नदिनका लागि संस्कृत भाषा सिक्ने बेलामा संस्कृत अनुकूलको आचरण र नैतिक शिक्षालाई पढ्ने विषय नबनाई आचरण परिवर्तनको माध्यम बनाउने कामलाई जोड दिनु पर्दछ अनि संस्कृत र नैतिक शिक्षाको कुरा मात्र होइन; जुन कुनै व्यवसाय, पेसा, विषय वा क्षेत्रमा विशिष्टता हासिल गर्ने सन्दर्भमा पेसागत आचारसंहितालाई कानुनी दायित्वका रूपमा मात्र नलिएर त्यो विषय अध्ययन गर्ने क्रममै विषयप्रतिको वैयक्तिक उत्तरदायित्वका सवालमा स्पष्ट रूपमा आचरणगत सुधारको अनिवार्यता हुनु पर्दछ ।
अब बाह्य वा देखावटी नैतिकता र आचरणका कुरा छोडी अभिवृत्ति वा आन्तरिक व्यक्तित्व निर्माणका लागि शिक्षालाई आचरण निर्माणको मूल आधार बनाउनु पर्दछ । कुनै विषयविशेष होइन, विद्यालयमा सञ्चालन हुने औपचारिक वा अनौपचारिक सबै किसिमका शैक्षिक क्रियाकलाप नैतिक र चरित्रवान् बन्न अभिप्रेरित गर्ने सशक्त माध्यम बन्न सक्नु पर्दछ । यसका लागि नैतिक शिक्षाका कथा पढाउने होइन, नैतिकवान् बन्न अभिप्रेरित गर्ने किसिमले व्यवहार सिकाउन पाठ्यक्रम, पाठ्यपुस्तक र नैतिकताप्रतिको सोचलाई परिमार्जन गर्नु पर्दछ ।