“संवाद”

164

भानु जयन्ती विशेष –

लता के सी
काठमाडौं

एकपटक म घुम्दै एउटा पार्कमा पुगेँ । भानुभक्त र मोतीरामको सालिकलाई सँगै देखेँ । उनीहरू कुरा गरेको खुसुरफुसुर आवाज सुनेँ । मेरा कान ठाडा भए ।


“होइन मोती, मेरो बारेमा यति बढाएर व्याख्या नगर्नुपर्थ्यो।म त सामान्य जनता, बाहुन केटो, रम्घामा जन्मेको थिएँ ।”
“होइन नि बाजे, आम नेपाली जनतालाई भाषाको माध्यमले एकीकृत गर्नु कहीँ चानचुने कुरो हो र भन्या ?”
“खै, तिमी त आफैँ विद्वान्, म के जानूँ त नि ?” खसोखास कुराचाहिँ त्यो गरिब घाँसीको विशाल मन देखेर यसो केही कल्याणको काम कलमले नै गरौँ कि भन्ने लागेको मात्र हो ।” “बाजेले कोरेका भाकाले त नेपाली जनमानस नाक फुलाएर उधुम छन्।हरेक वर्ष असार २९ गते कहिले आउला भन्दै औँला भाँचेर सम्मान खन्याउने तयारीमा औँला भाँचेर बस्छन्।” मोतीका कुराले भानु भावुक भए र भने,“यही नै सत्य हो भने तिमीले नै सबैलाई मेरो सन्देश पुर्याउनु पर्यो है,प्रिय मोती !” “हजुर, मर्जी गरे भयो नि ।”, अदबका साथ उनले जवाफ पर्खिए ।
भानु गम्भीर भए र भने, “सबै नेपालीले एक दिन मेरो फोटो पुजेर, माल्यार्पण गरेर, स्मृतिमा सिर्जना फलाकेर, विभिन्न गोष्ठीका नाममा धनराशि खन्याएर मेरो सम्मान हुँदैन भनेका छ, भन्दिनू है ।”
“सम्मानका खातिर हामी के गरौँ भनेर जनमानसले सोधे भने म बबुराले के भनौँ, ख्वामित ?”, मोतीले सोधे ।
एकछिन गम खाएर भानुले भने, “विवेकको प्रयोग गरेर नेपाल आमा र नेपाली भाषाको अस्तित्वको वचाउ गर्नू नै मेरो सही सम्मान हुने छ भन्देऊ ।” उनीहरू दुईबिच भएको यति कुरा सुन्दै थिएँ तर त्यसै बेला दुई जना बलिया मानिस सालिक भत्काउन तयार भए । मैले कारण सोधेँ, “उनीहरूले भने, “अब यहाँ पार्क संरक्षक गर्ने मालिकको सालिक बनाउने रे ।”