समृद्धि

124

तुलसी पण्डित

जादा सर्ररर बसमा गइयो मुक्तिनाथ । फर्कदा विचार परिवर्तन भयो । हिंडेरै जाने निधो गरेँ । बाटोमा हिंड्दै गर्दा गाऊँको पनि अबलोकन गर्ने बिचार जाग्यो । मेरो पाइला गाउँ तिर बढे । जब म गाउँ पुगे आश्चर्य चकित भएँ । त्यहाँको दृश्य देखेर । जाडो छ । सबै नाङ्गैभुङ्गै । लगाएका कपडा मैलाले चम्केका थिए ।
साँझ पर्यो एक घरमा बास बसेँ । खाना तयार भयो । पानी ल्याएर दिए । हात धोएर बसे खान । थालभरी जङ्गलमा पाइने सिस्नुको खोले पो छ । तै भोक लागेकोले खाएँ । मिठै लाग्यो । अरु थपेँ।
मलाई सिस्नुले मोहनी लगाएछ । अरु दुईतीन दिन त्यही बसेँ । त्यहाँको दयनीय अवस्था हेर्दा लाग्यो सरकारको समृद्धि कहाँ छ ? न स्कुल गएका छन् केटाकेटी पढ्न । न आङ्ममा कपडा छ । न पेटभरि खान पाएका छन् ।
मैले म बसेको घरको पन्ध्र बर्षको ठिटोलाई पढाइ दिने र जागिर लगाई दिने शर्तमा शहर लिएर गएँ । ऊ भन्दै थियो । “सर कति अचम्म । यी गाडीहरु कसरी दौडेका छन् ?” शहरको चहल पहल र ठूला घर देखेर ऊ अझ जिल्ल परि रहेको थियो । दोकानमा एकजोर सिलाएको कपडा किनेर लगाउन दिए । हातमा घडी बाँधी दिए । ऊ त झिल्के पो देखियो ।
काठमाडौ लगेर बिद्यालयमा भर्ना गर्न खोजे । साना भुराभुरीको अगाडि ऊ पढ्न मानेन । उसलाई लाज लाग्यो रे ।उसको चाहना अनुसार एउटा काममा लगाई दिए । दुई महिना पछि ऊ सँग मेरो भेट भयो । ऊ भन्दै थियो ।
“सर यहाँ फालेका कपडा र खानेकुराहरु सबै म बसेको ठाउँमा लान मात्र सके। त्यो ठाउँमा समृद्धि त्यसैले आउने थियो ।”