शुक्रराज कुँवर
धरान १० , बलभद्र पथ
सडकको चौरास्तामा एउटा सालिक खडा थियो । उसलाई मानिसहरु चिन्दैनथे तर सहिद हो भन्दथे । त्यो सालिकको पाउ नेर एउटा चरा आएर बास बस्दथ्यो । जुनेली रात थियो । सदा झैँ चरा सालिकको पाउमा बास बसिरहेको थियो । अकस्मात उसको टाउकोमा पानीको थोपा झर्यो । पानी पर्ने मौसम त होइन भन्दै चराले टाउको झट्कार्यो तर त्यो क्रम रोकिएन । चराले यो के हुन लाग्यो भनेर टाउको यसो माथि उठायो । सालिक रोईरेको थियो । उसको आँखाबाट बरर आँशु झरिरेहेको थियो ।
चरा भुर्र उडेर सालिकको काँधमा बस्यो । के भयो ? किन रोईरहनु भएको छ । माला पनि लगाइ दिएका रहेछन्। सहिद भनेर सम्मान गरेकै रहेछन् त फेरि के मा दु:ख मनाउ हो ? चराले जिज्ञासा राख्यो ।
” त्यो सबै झारा टार्ने काम मात्र हो । म सँगसँगै मेरो विचारको पनि हत्या गरे । वर्षको एकदिन माला र अबिर लगाई दिँदैमा सहिदको सम्मान हुन्छ र ? उसको विचार र आदर्शको अनुसरण गर्नु पर्दैन ?” सालिकले दु:ख मनाउ गर्दै भन्यो ।