“साँच्चै भयाे स्वर्णिम याे तराई”

147

 

 

घनश्याम रेग्मी

बाला झुले स्वर्णसमान लाग्छन्
पीयूषको स्वाद दिने अहा! छन्
श्री अन्नपूर्णा घरभित्र पाई
साँच्चै भयाे स्वर्णिम याे तराई।

आकाशमा बादल छैन कालो
टाढा गयो लुब्ध हिलो र मैलो
ऐश्वर्य आफ्ना घरभित्र ल्याई
साँच्चै भयाे स्वर्णिम याे तराई।

खोस्रेर पानी पसिना दिएको
देखेर आफ्नो श्रम फक्रिएको
छन् मख्ख हाम्रा सब दाजुभाइ
साँच्चै भयाे स्वर्णिम याे तराई।

चिन्ता असारे पल भेल बाढी
हुत्याउने जीवनको कि गाडी
खाद्यान्नले मग्न किसान भाइ
साँच्चै भयाे स्वर्णिम याे तराई।

रोपेर मानो फल यो मुरी छ
सङ्कष्ट टाढा सुनको धुरी छ
हाँसो खुसी जीवन मुस्कुराई
साँच्चै भयाे स्वर्णिम याे तराई।