विष्णु भण्डारी
आज सधनाको जन्मदिन, उनी अरु दिनभन्दा पनि खुसी देखिएकी छिन् आज । संयोगले छुट्टीको दिन पनि परेकोले स्कुल जानु पनि परेन । बिहानै उठेर नुहाइधुआइ गरिन् उनले । उनको जन्मदिनको लागि भनेर बाबाले बुट्टे जामा ल्याइदिनुभएको थियो ,त्यही जामासँग मिल्ने बुट्टे हेयरविन लगाइन् ।
उनका साथीहरु आउँदा उनी चिटिक्क परेर बसेकी थिइन् । केही छिनमा उनका साथीहरु कृष्टिना,सेनु,बबी,कुन्दन,सौजन र उनले निम्ता गरेका धेरै साथीहरु आए । वाहू! बर्डडे गर्ल कति राम्री भकी भनेर अगालो हाले , माया गरे उनलाई ।खुसीले उनकाे खुट्टा भुइँमा रहेन । उनका साथीहरुले उनलाई आफूले बनाएको रङ्गिन चित्र ल्याइदिएका थिए । उनी फुरुङ्ग भइन् । केक काट्ने बेला भयो , टेबुलमा सजाएर राखिएको मैनबत्ती बालिन् ,उनका बाबाआमा,काकाकाकी र उनका सबै परिवार अनि उनका साथीहरुले ह्याप्पी बर्थडे साधना भन्दै रमाउँदै रमाउँदै सबैले ताली बजाए । साधनाले केक काटेर सबैलाई बाँडिन् । सबै साथीहरु मिलेर नाचे ,कसैले गीत गाए,खुबखुब रमाइलो गरे ।