रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
सारथि तिमी साहित्य रथ हाँकेर दाैडदा
बालक हामी खुसी छाैँ साथ रसमा पाैडदा।
सारथि बाल पत्रिका हाम्राे हितैषी साथी हाे
भावना हाम्रा बुझेर कृति दिनु याे जाती हाे।
सारथि तिमी रहनू सदा कर्मकाे साथमा
दर्शन दिनु गीताकाे राम्राे धर्मकाे पथमा।
रथकाे पाङ्ग्रा बलियो बनाेस् लक्ष्यमा पुगाेस
ज्ञानको सामु अज्ञान सदा धनु झैँ नुगाेस।
विभिन्न विधा कविता कथा लिएर काेशेली
संगीत बनी गुञ्जाेस गीत हालेर सुसेली।
लाेहाेरी हाल्नू सारथि तिमी बालक माझमा
आमाकाे साथ लुपुक्क लागाेस् सन्तान साँझमा।
प्रगति थुम्की चुमेर आओस् विजेता बनेर
जागृति ल्याओस् नेपाली हामी एउटै भनेर।
बालक हामी सारथि तिम्राे साथमै खडा छाैँ
हृदय खाेली सारथि तिमी धन्य छाै भन्दछाैँ।
यात्रामा तिमी नथाकी हिड्नु कामना गर्दछौँ
अर्जुन बनी सारथि तिम्राे शरण पर्दछाैँ।