सोमबारे औँसी के बार पर्छ ?

रमेशचन्द्र घिमिरे
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ

‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरी बज्यै के बार पर्छ ?’
यसो भन्दा बहिनीले केलाउँदै फर्सी
भन्नुभयो बज्यैले ‘शनिबारको पर्सि’

‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरी आमा के बार पर्छ ?’
यसो भन्दा बहिनीले मिलाउँदै लोली
भन्नुभयो आमाले ‘आइतबारको भोलि’

‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरी दिदी के बार पर्छ ?’
यसो भन्दा बहिनीले नमानेर झिजो
भन्नुभयो दिदीले ‘मङ्गलबारको हिजो’

‘सोमबारे औँसी के बार पर्छ ?
भन्दिनू न मेरा दाज्यै के बार पर्छ ?’
यसो भन्दा बहिनीले बोल्नुभयो दाज्यै
‘सोमबारमै पर्छ बहिनी सोमबार हो आजै ।’