“हामी नेपाली”


पुण्यप्रसाद घिमिरे
दाेलखा

पूर्वमा बस्ने पूर्वेली,
पूर्वका कुरा जान्दछाैँ,
पश्चिम बस्छाैँ पश्चिमे,
पश्चिमका भाका तान्दछाैँ।

मध्यमा बाग्मती गण्डकी,
यतैका शैली छान्दछाैँ,
दक्षिण मधेश प्रदेश,
झिझिया लय तान्दछाैँ।

उत्तरकी डाेल्मा शेर्पा छन्,
आलू छुर्पी खुवाउँछिन्,
दक्षिणकी साथी मण्डल,
छटकाे गीत सुनाउँछिन्।

भट्टले डेउडा सिकाउँछन्,
घिमिरे भजन गाउँछन्,
आआफ्नाे भाषा वेशमा,
कक्षामा सबै रमाउँछन्।

हीराले सेलाे गाउँछन्,
पूर्वेली मारूनी नाच्दछन्,
हजाराैँ ताल लयमा,
सबैले कम्मर भाँच्दछन्।

भक्तले काँठे सुनाए,
दमनले टप्पा सुनाए,
मेचीकाली दसगजा,
नेपाली बनी रमाए।

नेवार क्षेत्री लिम्वू राई,
मगर खान भट्टराई,
कक्षामा हाँस्दै बसेका,
ज्ञान र सिप सिक्नलाई।

नेपाल हाम्राे फूलबारी,
चाैदिशा हामी बसेका,
हिमाल पहाड तराई,
एकता माला कसेका।