“हेमन्तको याम छ कष्टदायी”

घनश्याम रेग्मी

टाढा गए घाम चिसो बढेछ
अचम्मको याम यही रहेछ
त्यो उष्ण तातो अघिको हरायो
कामेर बस्ने अहिले गरायो।

बाक्ला लुगा किन्न छ बच्नलाई
खोलौँ कि ता बाकस झिक्नलाई
कि बाल आगो दन दन्न पार
तातो दिने बस्तु तयार पार।

बिहानमा तप् तप् शीत खस्छ
ढुडी बसी सूर्य समेत छेक्छ
पाउन्न तात्नै दिन ढल्न थाल्छ
र साँझ चाँडै अझ पर्न थाल्छ।

लामा भए रात छ कष्ट धेर
घटेर आयो दिनको उमेर
आगो धुनी हर्हर पार भाइ
बाँचौँ बचाऔँ अलि ताप पाई।

पानी चिसो झन् नदको नलीको
जमेर बस्ने मनकी छलीको
बेला थियो बालक काल खेल्थ्यौँ
खेलेर जाडो सब बिर्सिदिन्थ्यौँ।

छ आस भित्री मनमा उषाको
जानेछ कालो तम यो निशाको
फिर्नेछ हाम्रो दिन रम्य भोलि
वसन्त राम्रो रङ राग घोली।