शान्ति सिग्देल
पाखा पखेरा सब ठाउँ जोती
टिप्दै म राखूँ अनमोल मोती
आफैँ समालूँ घर वा कटेरो
मैलो नलागोस् मन भित्र मेरो।
भोको छु भन्दै नहिँडूँ म मागी
नेपाल छोड्ने नबनूँ अभागी
पक्की बनाऊँ पथ या पँधेरो
मैलो नलागोस् मन भित्र मेरो।
खोले र सिस्नो परिकार खाऊँ
यो देश मेरो शिरमा सजाऊँ
हो वायु पानी सब मित्र मेरो
मैलो नलागोस् मन भित्र मेरो।
चन्द्रांशु तारा रवितुल्य बन्दै
सङ्घर्षले जीवन यो निफन्दै
आजन्म आत्मा नबनोस् अँधेरो
मैलो नलागोस् मन भित्र मेरो।
बाधा हजारौँ छिमलेर फाली
उद्यानको बन्न सकूँ म माली
यो मृत्तिकाको म बनूँ पियारो
मैलो नलागोस् मन भित्र मेरो।
रम्भा पौडेल “अब फेरी आज के पढाउने होलान् यी बुढाले ” पछाडि बसेको मिलनले सानो…
गजल आचार्य श्री बुढानिलकण्ठ आवासीय मावि गोलबजार, सिरहा २०८२ मङ्सिर १८ गते हिजो आमाले मायालु…