अँध्यारो हटाए है

युगल बसेल
सन्धिखर्क

आकाशमा हेर न नानी राति
देखिन्छ गोलो चिज एक माथि
यो पूर्णिमा अझ हुन्छ राम्रो
मेटिन्छ हेर्दा पिरताप हाम्रो।

सराकमै छन् अनगिन्ती तारा
चम्केर छुन्छन् मनको किनारा
परन्तु जुनको फरकै छ सान
करोड तारा बीचमा महान।

लुकेर बादलमुनि खेल्छ कैले
खुर्पे बनी फेर्दछ रूप कैले
हुँदैन कैलै पनि यो उदास
रुँदैन ,रिस छैन खुसी सदा छ।

नानीहरू हो ,तिमी हुर्कँदैछौ
ज्योति थपी झनझन चम्किँदैछौ
खोजी गरी जे छ यहाँ नजाती
मिल्काउनेछौ तिमीले समाती।

तिमीहरू जुनकिरी आजका हौ
हुर्की छिटै जुन तिमी छुनेछौ
छरेर चारैतिर ज्योति प्यारो
हटाउनु है ननिको अँध्यारो।