
रोजिना घिमिरे
(परिवेश: मध्यरातको समय। शिक्षिका आफ्नो टेबुलमा एउटा ब्रेल लिपिमा लेखिएको उत्तरपुस्तिका राखेर घोरिएकी छिन्। बाहिरको सन्नाटाले उनलाई भित्रैदेखि चिथोरिरहेको छ। उनी आफ्नी प्रिय शिष्याले भोग्नुपरेको अन्याय र आफ्नो विवशतालाई केलाउँदै छिन्।)
“यो समाज कति क्रूर छ… विशेषगरी ती मानिसहरूका लागि, जो अन्धकारलाई चिरेर बाहिर निस्कन खोज्छन्। (ब्रेल पेपरलाई स्पर्श गर्दै) यी थोप्लाहरू… यी केवल मेरी प्रिय शिष्याले कोरेका अक्षरहरू होइनन्, यी त उसका सङ्घर्षका डोबहरू हुन्। तर म ? म कस्ती गुरुआमा, जसले आफ्नै छोरी समान शिष्याको मनको कुरा पढ्न अर्को मान्छेको आँखा सापटी माग्नुपर्छ। म आफूलाई ‘शिक्षित’ भन्छु, तर यी छ वटा थोप्लाको संसारमा म कति निरीह र अशिक्षित रहेछु भन्ने आज महसुस भइरहेको छ।
आज उसले आफ्नो मनको गाँठो फुकाउँदा मेरो मुटु कति भारी भयो, म शब्दमा भन्न सक्दिनँ। उसले भन्दै थिई— ‘म्याडम, म धेरै सक्रिय भएकाले मेरै वर्गका केही शिक्षक मलाई दोष लगाउनुहुन्छ । म अगाडि बढ्दा अरू साथीहरू पछि परे रे ! के मेरो प्रगति अरूका लागि अवरोध हो र म्याडम ?’ (लामो सुस्केरा हाल्दै) सुन्दा पनि कस्तो अचम्म लाग्ने कुरा ! एउटा दृष्टिविहीनले अर्की दृष्टिविहीन शिष्याको प्रतिभामा ईर्ष्या गर्ने ? एउटा गुरुले त आफ्नी शिष्यालाई आकाश छुन सिकाउनुपर्ने हो, तर यहाँ त उनकै पखेटा काट्नका लागि षडयन्त्र गरिँदो रहेछ।
(कोठामा टहल्दै, स्वरमा गम्भीरता र आक्रोश मिसाउँदै)
आफ्नै वर्गभित्रको यो कस्तो भयानक राजनीति हो ? के एउटी छोरीले आफ्नो क्षमता प्रदर्शन गर्नु अपराध हो ? उनीहरू भन्छन् रे— ‘ऊ धेरै जान्ने भई, उसले गर्दा अरूले अवसर पाएनन्।’ छिः! कस्तो दरिद्र मानसिकता। ज्ञान त जति बाँड्यो, त्यति बढ्छ। कसैको व्यक्तिगत मेहेनतले अरूको बाटो कसरी रोक्न सक्छ ? वास्तवमा उनीहरू डराएका छन्। उनीहरू मेरी शिष्याको त्यो चमक देख्न चाहँदैनन्, जसले उनीहरूको आफ्नै निष्क्रियता र असक्षमतालाई उदाङ्गो पारिदिन्छ। उनीहरू चाहन्छन्— ऊ पनि उनीहरू जस्तै औसत बनोस्, उनीहरू जस्तै अँध्यारोमा सीमित रहोस्। तर मेरी शिष्या त एउटा उज्यालो नक्षत्र हो, जसलाई छेक्ने सामर्थ्य यी सानातिना बादलहरूसँग छैन।
तर मेरो मनमा एउटा ठूलो सुल रोपिएको छ। जब परीक्षाको समय आउँछ, जब ती पेपरहरू अनुवाद गर्नुपर्ने हुन्छ… तब म कति लाचार हुन्छु ! मैले तिनै मानिसहरूलाई गुहार्नुपर्छ, जो भित्रभित्रै मेरी शिष्याको प्रगतिमा डढेलो सल्किएर बसेका छन्। मलाई डर लाग्छ— कतै ती ईर्ष्यालु हातहरूले उसको उत्तरपत्रमा लेखिएका सुन्दर विचारहरूलाई बङ्ग्याइदिने त होइनन्? कतै उसको मेहेनतमाथि नियोजित रूपमा कलम चलाएर उसको भविष्यमाथि खेलबाड गर्ने त होइनन्? एउटी शिक्षिका भएर पनि म आफ्नी शिष्यालाई यो ‘राजनीति’ बाट जोगाउन सकिरहेकी छैन, केवल यसकारण कि मलाई ब्रेल लिपि आउँदैन।
(ब्रेल स्लेटलाई हातमा लिँदै)
धिक्कार छ मलाई! मैले समयमै यो लिपि किन सिकिनँ ? यदि मैले ब्रेल जानेको भए, म कसैको अनुहार हेर्न बाध्य हुने थिइनँ। म आफैँ उसको कापी जाँच्ने थिएँ। म आफैँ उसको वकिल बनेर ती ईर्ष्यालु शिक्षकको अगाडि उभिने थिएँ र भन्ने थिएँ— ‘हेर, यो मेरी शिष्याको योग्यता हो ! तिमीले उसको पाइला रोक्न सक्छौ, तर उसको गन्तव्य रोक्न सक्दैनौ।’ तर आज म अरूको भर पर्न विवश छु। मेरो यही अज्ञानताले गर्दा मेरी शिष्याले त्यो मानसिक प्रताडना भोग्नुपरिरहेको छ।
कति पटक उसले आशावादी नजरले मतिर हेरेर आफ्ना सिर्जना सुनाउन खोज्दा, मैले समय अभाव वा लिपिको अनभिज्ञताका कारण उसलाई टारेकी छु होला। त्यो क्षण उसको मनमा कस्तो चोट पुग्यो होला ? एउटी गुरुआमा, जसलाई उसले आफ्नो आदर्श मान्छे, उसैले उसको लिपि बुझ्न नसक्दा ऊ कति एक्लो महशुस गर्दी हो। समाजले भन्छ— ‘तिमीले उसलाई धेरै माया गर्छौ।’ तर के माया मात्र पर्याप्त छ ? अहँ, छैन। जबसम्म म उसको भाषामा ऊसँग कुरा गर्न सक्दिनँ, जबसम्म म उसका यी ‘अदृश्य थोप्लाहरू’ भित्र लुकेका भावनाहरू आफ्नै आँखाले पढ्न सक्दिनँ, तबसम्म मेरो माया र मेरो गुरुत्व दुवै अधुरो रहनेछन्।
(टेबलमा दृढताका साथ बस्दै)
अब धेरै भयो। म अब यो विवशताको जालोमा अल्झिएर बस्ने छैन। मेरी शिष्याले भोग्नुपरेको यो अन्याय, यो आफ्नै वर्गभित्रको फोहोरी राजनीति र यो अनुवादको नाममा हुने अपमानलाई म अब टुलुटुलु हेरेर बस्न सक्दिनँ। म सिक्नेछु! म यो ब्रेल लिपिको हरेक थोप्लोलाई आफ्नो हृदयमा उतार्नेछु। मलाई अब कसैको सहारा चाहिँदैन। म आफैँ उसको आँखा बन्नेछु, म आफैँ उसको कलम बन्नेछु।
ती ईर्ष्या गर्ने शिक्षकहरूलाई म यो सन्देश दिन चाहन्छु— तिमीहरूले उसलाई एउटी ‘अपाङ्गता भएकी केटी’ देख्यौ होला, तर मैले उसभित्र एउटा अपराजित आत्मा देखेकी छु। तिमीहरूले उसको खुट्टा तान्यौ होला, तर म उसको पखेटामा शक्ति भर्नेछु। र त्यो शक्तिको पहिलो खुड्किलो ‘ब्रेल’ हुनेछ। जुन दिन म उसको पेपर आफैँ अनुवाद गर्ने सामर्थ्य राख्नेछु, त्यो दिन तिम्रो यो राजनीतिको पसल सधैँका लागि बन्द हुनेछ।
मेरी प्यारी शिष्या! अब तिमी नडराऊ। तिम्रो यो गुरुआमा अब केवल तिमीलाई कक्षामा पढाउने शिक्षिका मात्र होइन, तिम्रो लिपि बुझ्ने साथी र तिम्रो भविष्य रक्षा गर्ने ढाल पनि बन्ने छे। तिम्रो सक्रियता तिम्रो गहना हो, यसलाई कहिल्यै नत्याग्नु। तिम्रो उज्यालोले कसैको आँखा बिझाउँछ भने बिझाओस्, तर म त्यो उज्यालोलाई निभ्न दिने छैन।
म सिक्दैछु… हेर, यी थोप्लाहरू अब मलाई बिस्तारै चिनजानका लाग्न थालेका छन्। यो मेरो र तिम्रो बिचको नयाँ पुल हो। अब न तिमी एक्लो हुनेछौ, न त म लाचार। यो अन्धकारको राजनीतिलाई परास्त गर्न म आफैँलाई तयार पार्दैछु। तिम्रो विजयको कथा अब म आफैँले पढ्नेछु, आफ्नै हातले लेख्नेछु। यो एउटी गुरुआमाको वाचा भयो !”





