
शोभा कोइराला
छन्द:- मन्दाक्रान्ता
हावा पानी दिनभर जसो भोग्नु पर्ने अजान
रोपी बाली घरघर मिली बस्न थाल्छन् किसान
ताताे गर्मी अब त सकियो भन्दछन् जेठ मास
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।१।
खोलानाला चहुर हरिया दृश्य लाेभ्याउने छन्
सुख्खा धर्ती अब नरहँदा बढ्छ आनन्द झन् झन्
शोभा दिन्छन् सहज ऋतुले लाग्छ सौन्दर्य खास
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।२।
खेल्छन् प्यारा प्रमुदित बनी खेतका ती गरामा
घुम्टो ओढी घुमफिर गरी हेर्दछन् याे धरामा
आयाे वर्षा सुरु हुन गई मृत्तिकामा सुवास
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।३।
वैलेका ती जमिनभरका वृक्ष जाग्छन् विशेष
बाल्यावस्था शिशुसम लता हाँस्दछन् झन् अशेष
वर्षा लाग्दा मनुजजनमा अन्नको फल्छ आस
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।४।
ठन्डा हावा सिरसिर गरी चल्छ चारै दिशामा
वर्षारानी छम छम गरी आइदिन्छिन् धरामा
वर्षाले नै मनुजजनमा बाँड्न सक्ला मिठास
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।५।





