एन्जल निलु,मिना साह
राजविराज -७ (खर्साल टोल)
“के को तयारी हुँदै छ ? कुनै कार्यक्रम छ कि?” विद्यालय पुग्नासाथ नरेन्द्रले रणवीरसँग सोधे।
“किन? तिमी नाच्ने होइन क्यारे?” पछाडिबाट बलवीरले होच्याउदै भन्यो।
“ए नरेन्द्र!तिमी फुटबल खेल्छौ ? खेल्ने भए आउ।” धनवीर पनि गिज्याउँदै भन्यो।
नरेन्द्र स्वभावले सोझो र मिलनसार थियो। इमान्दार र मेहनती थियो । साथीहरूको बकमफुस्रे कुरालाई उति महत्व दिदैनथ्यो। आफ्नो पढाइलाई प्राथमिकता राख्थ्यो। शिक्षकहरूलाई सम्मान गर्थ्यो।
वक्तृत्व प्रतियोगिता कार्यक्रम सुरु हुन लागेको थियो। नरेन्द्रले पनि बिन्ती गर्यो, ” लामो समय विद्यालय आउन नसक्दा मलाई जानकारी भएन । म पनि सहभागी हुन्छु।” पालैपालो सबै विद्यार्थीले विषयमाथि बोले।
कार्यक्रमको अन्तिममा निर्णायक मण्डलले नतिजा सुनाउने पालो आयो। सबैको मनमा प्रथम को हुन्छ ? भनेर उत्सुकता बढिरहेको थियो । बलवीर र धनवीर प्रफुल्लित भइरहेका देखिन्थे तर प्रथम भनेर नरेन्द्रको नाम घोषणा भयो ।
शिक्षकले उसलाई स्याबास दिँदै भन्नु भयो ,”कक्षामा मात्र होइन, आज अतिरिक्त क्रियाकलापमा पनि तिमीले आफ्नो दक्षता देखायौ ।
रणवीरले दुईजना छुद्र साथीहरुलाई भन्यो, “तिमीहरुले हेला गरेको नरेन्द्र त खुट्टाको अपाङ्ग हो तर तिमीहरू त दिमागका अपाङ्ग रहेछौ ।